उपत्यकाको यातायात प्रणाली अस्तव्यस्त, निर्णायक कदम नचाले अवस्था थप बिग्रन्छ : मन्त्री दाहाल

काठमाडौँ, १८ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ उपत्यकाको यातायात प्रणाली अस्तव्यस्त बनेको भन्दै यसलाई व्यवस्थित गर्न तत्काल निर्णायक कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ।

उहाँले बढ्दो सवारी चाप, अव्यवस्थित सहरीकरण र अपर्याप्त पूर्वाधारका कारण उत्पन्न समस्या समाधानका लागि यो अन्तिम अवसर हुनसक्ने चेतावनीसमेत दिनुभयो।

आज ललितपुरमा आयोजित ‘काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना’ सम्बन्धी एक कार्यक्रममा बोल्दै मन्त्री दाहालले संघीय राजधानीको अव्यवस्थित यातायातले आर्थिक उत्पादकत्व र जनस्वास्थ्यमा समेत गम्भीर असर पारेको बताउनुभयो।

उहाँले भन्नुभयो, “यदि हामीले अहिले पनि निर्णायक कदम नचाल्ने हो भने, अवस्था थप बिग्रनेछ, जसले उपत्यकाको दिगोपनलाई खतरामा पार्नेछ। यो परियोजनामार्फत समाधान खोज्ने हाम्रो अन्तिम अवसर हुनसक्छ।”

मन्त्री दाहालका अनुसार सन् २०१२ मा बनेको गुरुयोजनापछि पनि सवारीसाधनको अनियन्त्रित वृद्धि, अव्यवस्थित सहरीकरण र कमजोर पूर्वाधारले ट्राफिक जाम, ढिलाइ र वायुप्रदूषणलाई भयावह बनाएको छ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले उपत्यकाको यातायात सुधारका लागि आफ्नो मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। त्यस्तै, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले दिगो र सुरक्षित यातायात प्रणालीका लागि बहुपक्षीय समन्वय आवश्यक रहेको बताउनुभयो।