साताको पहिलो दिन नेप्सेमा भारी गिरावट, परिसूचक २९०० तल
काठमाडौं, १८ साउन । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) मा भारी गिरावट आएको छ। यस दिन नेप्से परिसूचक ६३.७३ अंकले घटेर २८५८.९० विन्दुमा झरेको हो।
यो गिरावटसँगै नेप्से ८ कारोबार दिनपछि २९०० को मनोवैज्ञानिक विन्दुभन्दा तल आएको छ।
सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो दिन करिब १६ अर्बको कारोबार भएको बजारमा आज ३१९ कम्पनीको १३ अर्ब ७ करोड रुपैयाँ बराबरको मात्रै सेयर खरिदबिक्री भयो।
आइतबार सेन्सेटिभ इण्डेक्स १०.३७ अंकले घट्दा फ्लोट इण्डेक्स ४.२२ र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.५२ अंकले ओरालो लागेका छन्।
बजार ओरालो लागे पनि दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। ट्रेड टावर र शिव श्री हाइड्रोपावरको सेयरमूल्य करिब १० प्रतिशतले बढ्यो। त्यस्तै, थ्रि स्टार हाइड्रोपावरको मूल्य साढे ४ प्रतिशतले बढ्यो भने सान्भि इनर्जीको सेयरमा भने नकारात्मक सर्किट लाग्यो।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो, जसको ७५ करोड ३९ लाख रुपैयाँको सेयर किनबेच भयो। हिमालयन रि इन्स्योरेन्स र हिमालयन डिष्टिलरी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।
आज कारोबारमा आएका सबै १३ वटै उपसमूहको परिसूचक राताम्मे भएका छन्। सबैभन्दा धेरै अन्य उपसमूहको परिसूचक ३.४८ प्रतिशतले घट्यो। त्यसैगरी, लघुवित्त, बैंकिङ्ग, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचकमा पनि २ प्रतिशतभन्दा बढीको गिरावट देखियो।