उत्तर कोरिया-रुस गठबन्धन थप बलियो: पुटिनद्वारा युक्रेन युद्धमा लडिरहेका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल, २८ साउन । युक्रेन युद्धलाई लिएर रुस र उत्तर कोरियाबीचको सैन्य गठबन्धन नयाँ उचाइमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ताअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको फोन वार्ताले उनीहरूको गहिरिँदो रणनीतिक साझेदारीलाई पुष्टि गरेको छ ।

दुवै देशका सरकारी सञ्चारमाध्यमका अनुसार, मङ्गलबारको वार्तामा पुटिनले रुसको कुर्स्क सीमा क्षेत्रमा युक्रेनी आक्रमणविरुद्ध अग्रपंक्तिमा लडिरहेका उत्तर कोरियाली सैनिकको “बहादुरी, वीरता र आत्मबलिदानी” को खुलेर प्रशंसा गर्नुभएको थियो । यो प्रशंसाले युक्रेनको युद्धभूमिमा उत्तर कोरियाली सेनाको प्रत्यक्ष संलग्नता रहेको कुरालाई पहिलो पटक आधिकारिक स्तरमा स्वीकार गरेको छ ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी (केसिएनए) का अनुसार, किमले गत वर्ष हस्ताक्षर भएको रणनीतिक साझेदारी सम्झौतालाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाउँदै “रुसी नेतृत्वले भविष्यमा लिने सबै कदमलाई पूर्ण समर्थन गर्ने” वाचा गर्नुभयो ।

यो घटनाक्रमले देखाउँछ कि किम जोङ उनले आफ्नो विदेश नीतिको केन्द्रमा मस्कोलाई राखेका छन्, जसको उद्देश्य अन्तर्राष्ट्रिय एक्लोपन तोड्दै वासिङ्टन र उसका सहयोगीहरूविरुद्ध एक बलियो मोर्चा खडा गर्नु हो ।

यसैबीच, रुसी समाचार एजेन्सी तासका अनुसार पुटिनले अलास्कामा ट्रम्पसँग हुने आफ्नो आसन्न भेटवार्ताबारे पनि किमसँग जानकारी साझा गर्नुभएको थियो, यद्यपि उत्तर कोरियाली सञ्चारमाध्यमले भने यसबारे कुनै उल्लेख गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *