पेरिस सेन्ट जर्मन युइएफए सुपर कप च्याम्पियन
उडिने (इटाली), २९ साउन । च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट जर्मन (पेरिस)ले नयाँ सत्रको सुरुआत उपाधिका साथ गरेको छ । फ्रान्सेली क्लब पिएसजीले बुधबार राति प्रिमियर लिग क्लब टोटनहाम हस्परसलाई टाइब्रेकरमा ४–३ ले हराएर युइएफए सुपर कपको उपाधि जित्यो । युइएफए सुपर कप च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताबिच खेलिने गर्दछ ।
फ्रान्सेली क्लबले युइएफए सुपर कप जितेको यो पहिलो पटक हो । यो सँगै पिएसजीले सन् २०२५ मा पाँच प्रमुख उपाधि जित्न सफल भएको छ ।
पिएसजीले दुई गोल फर्काएर खेलमा शानदार पुनरागमन गरेपछि निर्धारीत समयको खेल २–२ ले बराबरीमा सकिएको थियो ।
नयाँ प्रशिक्षक थोमस फ्रान्कको नेतृत्वमा रहेको टोटनहाम २–० ले अगाडि थियो । मिकि भान डि भानको गोलबाट खेलको ३९ औँ मिनेटमा र क्रिस्टियन रोमेरोले ४८ औँ मिनेटमा गोल गरेका थए । तर दुई वैकल्पिक खेलाडीको गोलबाट पिएसजीले पुनरागमन गर्यो । खेलको ८५ औँ मिनेटमा लि काङ–इन र इन्जुरी समयको चौथो मिनेटमा गोन्कालो रामोसले गोल गरी खेललाई पेनाल्टी सुटआउटमा लगे ।
पेनाल्टीमा पनि पिएसजीका लागि पहिलो प्रहार गर्ने भिटिनाले असफल बनेका थिए । तर पिएसजीका नयाँ गालरक्षक लुकास चेभालियरले भान डि भेनको प्रहार जोगाए भयो माथिस टेलले गोल गर्न नक्दा टोेटनहाम निराबश बन्यो । पिएसजीका लागि नुनो मेन्डिस, रोमास, डेम्बेले र लिले पेनाल्टीमा गोल गरे । यसैगरी टाइब्रेकरमा टोटनहामका डोमिनिक सोलान्के, रोड्रिगो बेन्टाचुर र पेड्रो पोरो सफल बनेका थिए । एएफपी