प्रिमियर लिगको उद्घाटन खेलमा लिभरपुल विजयी
लन्डन, ३१ साउन । अन्तिम समयमा दुई गोल गरेर उपाधि रक्षा अभियानमा रहेको लिभरपुलले प्रिमियर लिगको नयाँ सत्रको पहिलो खेलमा जित हासिल गरेको छ । फेड्रिको चिसा र मोहम्मद सलाहले खेल सकिनै लाग्दा गोल गरेपछि लिभरपुलले उद्घाटन खेलमा बोर्नेमाउथलाई ४–२ ले पराजित गर्यो ।
ह्युगो इकिटिके र कोडी गाप्केको गोलले लिभरपुलले दुई गोले अग्रता बनाएको थियो । तर बोर्नमाउथका एन्टोनी सेमेन्योले दुई गोल फर्काएर खेल रोमाञ्चक बनाए । खेलको ८८ औँ मिनेटमा चिसा र इन्जुरी समयमा सलाहले गोल गरेर बराबरीतर्फ अग्रसर खेलमा लिभरपुललाई जित दिलाएका हुन् । खेलको ३७ औँ मिनेटमा इकिटिके र ४९ औँ मिनेटमा कोडी गाप्कोले गोल गरेपछि लिभरपुल आरामदायक स्थितिमा पुगेको थियो । सो खेलमा रंगभेदी व्यवहार भोगेका घानाका २५ वर्षीय अन्तर्राष्ट्रिय खेलाडी सेमेन्योले ६४ र ७६ औँ मिनेटमा गोल गरे ।
सलाहको आँखामा गोल गरेपछि आँसु थियो । उनी जोटाको सम्झनामा भावविह्ल बनेका हुन् । इकिटेके र गाप्कोले पनि आआफ्नो गोल जोटालाई समर्पण गरे । गत महिना अफ सिजनमा फरवार्ड डिएगो जोटा र उनका भाइ एन्द्री सिलभाको कार दुर्घटनामा निधन भएको थियो । गत वर्ष २८ वर्षीय जोटाकै शानदार प्रदर्शनमा लिभरपुलले लिग उपाधि जितेको थियो । सो दुर्घटनाको ११ दिनअघि मात्र जोटाले रुट कार्डोसोसँग विवाह गरेका थिए । यी जोडीका तीन सन्तान छन् । लिभरपुल र बोर्नेमाउथबिचको खेलअघि जोटाको सम्झनामा एक मिनेट मौन धारण पनि गरिएको थियो ।