रुपन्देही-३ उपनिर्वाचन: २६ दल प्रतिस्पर्धामा, असोज २१ गते उम्मेदवारी दर्ता

काठमाडौँ, ३ भदौ। आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनको चुनावी मैदानमा २६ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने भएका छन्।

निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि आवेदन दिएका २७ दलमध्ये प्रक्रिया पूरा गरेका २६ दललाई दर्ता गर्ने निर्णय गरेको हो।

आयोगकी सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार, सोमबार बसेको आयोगको बैठकले नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनबमोजिम दलहरूलाई दर्ता गर्ने निर्णय गरेको हो। उहाँका अनुसार आवेदन दिएकामध्ये एक दलको प्रक्रिया पूरा नभएकाले दर्ता हुन सकेन।

उपनिर्वाचनमा भाग लिन दर्ता हुने प्रमुख दलहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नेकपा (एकीकृत समाजवादी) रहेका छन्।

यसैगरी, मङ्गोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय जनमोर्चा, नेपालका लागि नेपाली पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, जनप्रजातान्त्रिक पार्टी नेपाल, नेकपा माक्र्सवादी (पुष्पलाल), संयुक्त नागरिक पार्टी, नेपाल समाजवादी पार्टी, नेकपा (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, हाम्रो नेपाली पार्टी, नेपाल जनमुक्ति पार्टी लगायत अन्य दलहरूले पनि आफ्नो नाम दर्ता गराएका छन्।

दल दर्ता प्रक्रिया सकिएसँगै आयोगले निर्वाचनको तयारीलाई तीव्रता दिएको छ। आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार, उपनिर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता आगामी असोज २१ गतेका लागि तोकिएको छ।