अफगानिस्तानमा भयानक सडक दुर्घटना: इरानबाट फर्काइएका शरणार्थीसहित ७६ को मृत्यु

काठमाडौं, ४ भदाै । अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा मंगलबार एक यात्रुवाहक बस, ट्रक र मोटरसाइकल ठोक्किँदा आगलागी हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा अधिकांश इरानबाट फर्काइएका अफगान शरणार्थी रहेका छन् भने १७ जना बालबालिका पनि परेका छन्।

तालिबान सरकारका सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुत्तकीका अनुसार, काबुलतर्फ गइरहेको बसले मोटरसाइकल र मालबाहक ट्रकलाई ठक्कर दिएपछि बसमा आगो लागेको थियो। दुर्घटना यति भयानक थियो कि बसमा सवार सबै यात्रु र अन्य दुई सवारीसाधनमा रहेका दुई जनाको घटनास्थलमै मृत्यु भयो। दुर्घटनामा घाइते भएका तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

यो दुःखद घटनाले इरानबाट अफगान शरणार्थीहरूको फिर्ताको मुद्दालाई पनि उजागर गरेको छ। इरानले हालैका दिनमा आफ्नो देशमा रहेका हजारौं अफगान नागरिकलाई फिर्ता पठाउने प्रक्रियालाई तीव्र बनाएको छ। सन् १९७० को दशकदेखि नै, विशेषगरी सन् १९७९ को सोभियत आक्रमण र २०२१ मा तालिबानको पुनरागमनपछि लाखौं अफगानीहरूले छिमेकी देश इरान र पाकिस्तानमा शरण लिँदै आएका छन्