चितवनमा जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेकाे संख्या चार पुग्यो, १३ जनामा संक्रमण पुष्टि

चितवन, ६ भदौ। चितवन जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिसको प्रकोप बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार, यस रोगका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ भने हालसम्म १३ जनामा संक्रमण पुष्टि भएको छ।

कार्यालयका प्रमुख दिनेश रुपाखेतीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त पछिल्लो रिपोर्टअनुसार मंगलबार थप एक जनाको मृत्यु पुष्टि भएको जानकारी दिनुभयो। मृतक भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय वृद्ध हुन्।

यसअघि कालिका नगरपालिका–५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका–१२ की ७० वर्षीया वृद्धा र भरतपुर महानगरपालिका–१२ की ८१ वर्षीया वृद्धाको पनि यही रोगका कारण मृत्यु भइसकेको थियो। गत आर्थिक वर्षमा पनि चितवनमा देखिएका तीन संक्रमितमध्ये एक जनाको मृत्यु भएको कार्यालयको तथ्यांक छ।

संक्रमण जिल्लाका पाँचवटा नगरपालिकामा फैलिएको छ। जनस्वास्थ्य कार्यालयका अनुसार भरतपुर, कालिका, राप्ती, खैरहनी र माडी नगरपालिकाका बासिन्दामा यो रोग देखिएको हो।