भियतनामी उपराष्ट्रपतिको नेपाल भ्रमण: आज प्रधानमन्त्री र उपराष्ट्रपतिसँग भेटवार्ता हुँदै
काठमाडौं, ८ भदौ । नेपाल भ्रमणमा रहनुभएकी भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनले आज (आइतबार) उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैहुनुहुन्छ ।
उहाँले आज उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा नेपाल र भियतनामबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र सहकार्यका विषयमा छलफल हुनेछ।
शनिबार काठमाडौं आइपुग्नुभएकी सुआनको यो भ्रमण नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वर्षगाँठको अवसरमा भएको हो। उहाँ सो अवसरमा आयोजना हुने विशेष समारोहमा पनि सहभागी हुनुहुनेछन्। भियतनामको तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो, जसले दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
नेपाल भ्रमणको पहिलो दिन शनिबार उहाँले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गर्नुभएकाे थियाे। सो भेटमा मन्त्री राणाले भियतनामबाट पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा हवाई उडान सुरु गर्न प्रस्ताव राख्नुभएकाे थियाे । सीधा उडानले भियतनामी पर्यटकलाई नेपाल आउन सहज हुने र पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरिएको छ।
उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यसलगत्तै उहाँ पाटन दरबार स्क्वायर र स्वयंभूनाथ स्तुपजस्ता सांस्कृतिक सम्पदा स्थलको भ्रमण गर्नुहुनेछन् । आफ्नो भ्रमण सकेर उहाँ सोमबार नै स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
