बार्सिलोनाको पुनरागमन जित

बार्सिलोना, ८ भदौ । स्पेनी लिगमा बार्सिलोनाले शनिबार राति दुई गोलले पछाडि परेर पनि लेभान्टेलाई ३–२ ले हराएको छ । घरेलु टिम लेभान्टेले अन्तिम समयमा आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेल जित्यो ।

खेलको १५ औँ मिनेटमा स्ट्राइकर इभान रोमेरो र पूर्वार्धको इन्जुरी समयमा जोस लुइस मोरालेसले गोल गरेपछि लेभान्टेले दुई गोलले अग्रता बनाएको थियो । तर गत विजेता बार्सिलोनाका लागि पेड्री गोन्जालेज र फेरान टोरेजले दोस्रो हाफमा गोल गरी खेल बराबरीको स्थितिमा ल्याए । त्यसपछि लामिने यमालको क्रसलाई जोगाउने क्रममा लेभान्टेका डिफेनडर उनाइ एलगाजाबलले आफ्नै गोलपोस्टमा बल छिराए ।

सो खेलमा म्यान्चेस्टर युनाइटेडबाट ऋणमा बार्सिलोना पुगेका मार्कस र्यासफर्डले पहिलो पटक पहिलो रोजाईमा खेले । उनलाई मध्यान्तरमा डेनी ओल्मोले स्थानापन्न गरेका थिए ।

बार्सिलोनाको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा बािर्सलोनाले नौ खेलाडीमा सीमित बनेको मायोर्कालाई ३–० ले हराएको थियो ।