पर्सामा हैजाको प्रकोप नियन्त्रण गर्न स्वास्थ्यकर्मीलाई बिदामा रोक

वीरगञ्ज, ९ भदौ । पर्सा जिल्लामा फैलिएको झाडापखाला र हैजाको सङ्क्रमणलाई नियन्त्रणमा लिन जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले कडा कदम चालेको छ ।

आइतबार बसेको समितिको बैठकले महामारीको समयमा जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीहरूलाई अत्यावश्यक अवस्थामा बाहेक बिदा स्वीकृत नगर्ने निर्णय गरेको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले आवश्यक परेमा स्थानीय तहका स्वास्थ्यकर्मीलाई केन्द्रिकृत गरी तोकिएको स्वास्थ्य संस्थामा खटाउने निर्णय पनि गरेको छ । बैठकमा मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधन प्रसादसिंहको समेत उपस्थिति थियो ।

निमित्त प्रजिअ कार्कीका अनुसार, हैजा रोकथामका लागि तत्काल जनचेतनामूलक कार्यक्रमहरू जस्तै माइकिङ र घरदैलो अभियान सञ्चालन गरिनेछ । यसका साथै, सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने थप जनशक्ति तथा स्रोतसाधनलाई एकीकृत गरी ‘पुल’ निर्माण गर्ने र त्यसलाई जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले नै आवश्यकताअनुसार वितरण, व्यवस्थापन तथा अनुगमन गर्ने निर्णय भएको छ ।

बैठकले हाल फैलिइरहेको महामारीको सङ्क्रमणको स्रोत पहिचान गर्ने जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई दिएको छ । यस कार्यका लागि आवश्यक पर्ने प्राविधिक सहयोग भने सङ्घीय र प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराउनेछ ।