मौलिक संस्कृतिको संरक्षण गर्दै समतामूलक समाज निर्माणमा जुटौँ : सभामुख घिमिरे
काठमाडौँ, १० भदौ । सभामुख देवराज घिमिरेले हरितालिका (तीज) पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै नेपालको मौलिक संस्कृति र परम्पराको संरक्षणमा सबैलाई एकजुट हुन आह्वान गर्नुभएको छ।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै उहाँले तीज पर्वले लैङ्गिक समानता, सामाजिक सद्भाव र पारिवारिक एकताको महत्वलाई स्थापित गरेको बताउनुभयो।
उहाँले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ, “यस्ता पर्वहरूले सामाजिक बाधा-अड्चनहरू हटाएर समतामूलक समाज निर्माणका लागि प्रेरणा दिन्छन्।”
सभामुख घिमिरेले नेपालको विविधता नै यहाँको पहिचान र शक्ति भएको उल्लेख गर्नुभएको छ। “भौगोलिक, धार्मिक, र सांस्कृतिक विविधताबीचको सहिष्णुता र सहअस्तित्व हाम्रो विशेषता हो,” उहाँले भन्नुभयो, “संविधानले सुनिश्चित गरेको धार्मिक स्वतन्त्रता र सांस्कृतिक हकको उपयोग गर्दै हामीले आफ्नो मौलिक पहिचान जोगाउनुपर्छ।”