काठमाडौँसहित सात जिल्लामा भारी वर्षा, कास्कीको घलेखर्कमा सबैभन्दा बढी ७३.८ मिमि

काठमाडौँ, २४ असोज । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँसहित सात जिल्लामा भारी वर्षा मापन भएको छ भने धेरै जिल्लामा मध्यम वर्षा भएको छ। यस अवधिमा सबैभन्दा बढी वर्षा कास्कीको घलेखर्क स्टेशनमा ७३.८ मिलिमिटर मापन भएको छ। २४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा मानिन्छ।

यसैगरी दार्चुलाको धरमपानीमा ६४.३, सङ्खुवासभाको चैनपुर पूर्व केन्द्रमा ६२.८, सर्लाहीको नवलपुरमा ६१.२ र मानुसमारा केन्द्रमा ५३.४, काठमाडौँको कलङ्कीमा ५१.२, सिन्धुपाल्चोकको बौनीपाटी र काभ्रेको रोशी केन्द्रमा ५०.४/५०.४ मिलिमिटर वर्षा भएको छ।

यसबाहेकका धेरै जिल्लामा १० देखि ५० मिलिमिटरबीच वर्षा भएको छ, जसलाई मध्यम वर्षा मानिन्छ। मौसम विज्ञानमा २४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनु धेरै भारी वर्षा हो भने २०० मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई अति भारी वर्षा मानिन्छ।

आज पनि देशका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *