३६ दिन पैदल हिँडेर बजार आइपुगे किसान, दसैँअघि भेडाच्याङ्ग्रा बिकाउन चिन्ता

म्याग्दी, २४ असोज। दसैँका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न मुगुबाट ३६ दिनको कष्टकर यात्रा गरेर म्याग्दीको गलेश्वर आइपुगेका किसानलाई अब बजारको चिन्ताले सताएको छ। प्रतिकूल मौसम, हिमपात र सडक अवरुद्ध हुँदा बजार पुग्न ढिलाइ भएपछि दसैँअघि भेडाच्याङ्ग्रा बिक्री हुने हो वा होइन भन्ने अन्योल बढेको हो।

मुगुको छायानाथ रारा नगरपालिका–६ का सञ्जय बिकसहित चार जना किसान दुई सय भेडाच्याङ्ग्रा लिएर शुक्रबार साँझ गलेश्वर आइपुगेका हुन्। उनीहरूले दसैँका लागि पोखरामा बिक्री गर्ने उद्देश्यले गत भदौ १८ गते घरबाट यात्रा सुरु गरेका थिए।

“यसपालि प्रतिकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध हुँदा धेरै दुःख पाइयो,” बिकले भन्नुभयो, “डोल्पाको छार्कामा हिमपात भएपछि एक हप्ता रोकियौँ। घरबाट हिँडेको ३६ दिनमा बल्ल गलेश्वर आइपुगेका छौँ।”

टोलीले ल्याएका दुई सयमध्ये एक सय भेडाच्याङ्ग्रा आफ्नै घरमा पालेका हुन् भने बाँकी छिमेकीबाट खरिद गरिएका हुन्। शनिबार गलेश्वरबाट गाडीमा राखेर पोखरा लैजाने योजना भए पनि दसैँ नजिकिँदै गर्दा बजारमा माग कस्तो हुन्छ भन्ने चिन्ता उनीहरूलाई छ।

“ढिला भइसकेको छ। अब बजारमा बिक्री हुने हो कि होइन भन्ने चिन्ता लागेको छ,” बिकले भन्नुभयो। डोल्पाको काइके गाउँपालिका–२ का मानप्रसाद रोकायासहित सात जना किसान पनि सात सय भेडाच्याङ्ग्रा लिएर पोखरातर्फ लागेका छन्। घरबाट हिँडेको २२ दिनपछि उनीहरू शुक्रबार म्याग्दीको घोडेपानी हुँदै कास्कीको पोखरातर्फ अघि बढेका हुन्।

भेडाच्याङ्ग्रापालनलाई मुख्य पेसा बनाएका उनीहरू हरेक वर्ष बिक्रीका लागि विभिन्न बजार पुग्ने गर्छन्। तर, यसपालि बाढीपहिरोले यात्रा थप कठिन बनाएको छ।

डोल्पाको काइके गाउँपालिका–२ सहरताराका सञ्जय बुढा पनि २५ दिन पैदल हिँडेर एक सय ६० च्याङ्ग्रा बिक्रीका लागि पोखरातर्फ लाग्नुभएको छ। समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथिका क्षेत्रमा पालिएका च्याङ्ग्रा खेदाएर बजारसम्म ल्याउन निकै कठिन हुने उहाँ बताउनुहुन्छ।

“भिर, खोल्सा र साँघुरो बाटोमा च्याङ्ग्रालाई हिँडाएर बजार पु¥याई बिक्री गर्नु हाम्रो परम्परादेखिकै पेसा हो,” उहाँले भन्नुभयो।

असोज ८ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढीपहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध हुँदा भेडाच्याङ्ग्रा बजारसम्म ल्याउने र सवारीसाधनबाट ढुवानी गर्ने काम प्रभावित भएको छ। यसका कारण कतिपय किसानले लामो दूरी पैदल हिँड्नुपरेको छ।

दसैँ नजिकिएसँगै डोल्पा, जुम्ला र उपल्लो मुस्ताङबाट भेडाच्याङ्ग्रा लिएर आएका किसान तथा व्यापारीको जोमसोमदेखि बेनीसम्म चहलपहल बढेको छ। मुस्ताङबाट गलेश्वर ल्याइएका भेडाच्याङ्ग्रा ट्रक तथा कन्टेनरमा राखेर पोखरा, काठमाडौँलगायत सहरमा पठाउन थालिएको छ।

यद्यपि, डोल्पाबाट मुस्ताङ आउने बाटो हिउँले ढाकिँदा त्यहाँका सबै किसानले भेडाच्याङ्ग्रा बजारसम्म ल्याउन नसकेको कृषि तथा पशुपन्छी विकास कार्यालय मुस्ताङका प्रमुख लालमणि अर्यालले बताउनुभयो।

तातोपानी र रसुवा नाका बन्द भएकाले यसपालि ठूला सहरमा भेडाच्याङ्ग्रा आपूर्ति गर्ने मुख्य मार्ग मुस्ताङ बनेको छ। जोमसोममा भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निकासी अनुमति दिने व्यवस्था मिलाइएको छ।

कार्यालय प्रमुख अर्यालका अनुसार हालसम्म १० हजार भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर निकासी अनुमति दिइएको छ। गत वर्ष १८ हजार भेडाच्याङ्ग्रा निकासी भएका थिए।

लामो यात्रा र सडक अवरोधका कारण किसान तथा व्यापारीको लागत बढेको छ। मुस्ताङमा सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा किसानसँग सम्पर्क गर्नसमेत कठिन भएको व्यापारीको भनाइ छ।

बेनी नगरपालिका–९ का व्यापारी डेकबहादुर चोखालका अनुसार असोज दोस्रो सातादेखि मुस्ताङमा सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा भेडाच्याङ्ग्रा खरिदमा समस्या भएको हो।

“किसानसँग सम्पर्क हुन नसकेपछि भनेजस्तो भेडाच्याङ्ग्रा ल्याउन पाइएन,” उहाँले भन्नुभयो।

व्यापारीका अनुसार मुस्ताङमा आकारअनुसार भेडा प्रतिगोटा ३२ हजारदेखि ३५ हजार रुपैयाँ र च्याङ्ग्रा करिब ४० हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बेनीमा भने भेडाको मूल्य प्रतिगोटा करिब ३६ हजार र च्याङ्ग्राको ४५ हजार रुपैयाँ पुगेको बेनी नगरपालिका–९, तोरीपानीका यामबहादुर बानियाले बताउनुभयो।

“पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उपयुक्त मानिन्छन्,” उहाँले भन्नुभयो, “महँगो परे पनि दसैँमा हिमाली क्षेत्रमा जडीबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु खाने चलन छ।”

मुस्ताङी भेडाच्याङ्ग्राको मुख्य बजार पोखरा र काठमाडौँ हुन्। म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ र लमजुङमा पनि यसको माग हुने गरेको धवलागिरि गाउँपालिका–७ का व्यापारी प्रेम छन्त्यालले बताउनुभयो।

मुस्ताङको नामग्यालका किसान तेन्जिङ गुरुङका अनुसार च्याङ्ग्रापालन त्यहाँका किसानको मुख्य आयस्रोत हो। मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा करिब ५० हजार च्याङ्ग्रा पालिएका छन्।

च्याङ्ग्राको शरीरबाट निस्कने भुवा पस्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ। तर, च्याङ्ग्रापालनमा अनेक चुनौती छन्। हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट पशु जोगाउन कठिन हुने गरेको छ। पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रिने र आहार अभाव हुने समस्या छ। हिउँदमा अत्यधिक हिमपात हुँदा पनि आहार नपाएर भेडाबाख्रा मर्ने गरेका छन्।

दसैँको बजारबाट वर्षभरिको आम्दानी जुटाउने आशामा किसानले हिमालबाट भेडाच्याङ्ग्रा खेदाएर ल्याउने गर्छन्। तर, यसपालि प्रतिकूल मौसम र सडक अवरोधले यात्रा लम्बिँदा खर्च बढेको छ भने बिक्रीमा समेत ढिलाइ भएको छ। समयमै बजार पुग्न नसक्दा दसैँको आम्दानी प्रभावित हुने चिन्ताले किसानलाई पिरोलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *