हरिवंश आचार्यको चर्चित पात्र ‘हरिबहादुर’ अब ठूलो पर्दामा

काठमाडौँ, भदौ १२ नेपाली हास्यव्यङ्ग्य क्षेत्रका अग्रज कलाकार हरिवंश आचार्यले निर्वाह गरेको लोकप्रिय पात्र ‘हरिबहादुर’ अब चलचित्र ‘हरिबहादुरको जुत्ता’ मार्फत दर्शकमाझ आउने भएको छ । टेलिश्रृंखला र रंगमञ्चमा यो पात्रले समाजका विकृति र विसंगतिमाथि व्यंग्य प्रहार गर्दै दर्शकको मन जित्न सफल भएको थियो । धेरैका लागि बाल्यकालको अविस्मरणीय हिस्सा बनेको ‘हरिबहादुर’ लामो समयपछि ठूलो पर्दामा देखिने भएको हो ।

गएको वैशाखमा प्रदर्शन भएको चलचित्र ‘भूठान’ मा गम्भीर भूमिकामा देखिनुभएका हरिवंश आचार्यले आगामी चलचित्र ‘हरिबहादुरको जुत्ता’ मार्फत दर्शकलाई हँसाउन र मनोरञ्जन प्रदान गर्न पुनः ‘हरिबहादुर’ पात्रमा देखिनुहुनेछ । बुधबार चलचित्रको टिजर सार्वजनिक गर्दै उहाँले समसामयिक विषयमा रमाइलो चलचित्र तयार भएको जानकारी दिनुभयो । आचार्यले भन्नुभयो, “भूठान चलचित्रमा काम गरेपछि त्यस्तै किसिमको भूमिका मात्र गर्छ कि भन्ने पनि रहेछ, तर म सबै किसिमको पात्रमा काम गर्न चाहन्छु। ‘हरिबहादुरको जुत्ता’ मा मलाई रमाइलो पात्र निर्वाह गर्दै गरेको देख्न सक्नुहुनेछ।”

अभिनेता आचार्यले नै पटकथा तथा संवाद लेखेको यस चलचित्रको ‘कन्सेप्ट’ बारे चर्चा भएपछि यो चलचित्रको रूपमा अगाडि बढेको हो । “मैले सरोज भाइ (गायक सरोज ओली) लाई चलचित्रको विषय सुनाएको थिएँ, उहाँ नै निर्माणमा अग्रसर भएपछि चलचित्र तयार भएको छ । यसले पर्दामा देखिने पात्रसँग दर्शकलाई जोड्छ भन्नेमा विश्वस्त छु,” आचार्यले भन्नुभयो ।

यो चलचित्र आउँदो दसैँलाई लक्षित गर्दै असोज १३ गते प्रदर्शन हुनेछ ।

निर्देशक दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको यस चलचित्रमा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, सीता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारले अभिनयको अभिनय छ । 

गायकद्वय सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको यस चलचित्रमा कृष्णबहादुर थापाको छायाङ्कन, नकुल खड्काको सम्पादन, वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत सिर्जना रहेको छ ।