मनाङमा पनि कात्तिक १७ गते नै उपचुनाव हुने

काठमाडौं, १३ भदाै । मनाङ प्रतिनिधि सभा १ को प्रदेशसभा २ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगको शुक्रबार बसेको बैठकले उपनिर्वाचनको मिति निर्धारण गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो। यसअघि रुपन्देही ३ को प्रतिनिधिसभा उपनिर्वाचन पनि यही मितिमा हुने घोषणा भइसकेको छ।

२०७९ सालको निर्वाचनमा राजीव गुरुङ (दीपक मनाङे) यस क्षेत्रबाट निर्विरोध निर्वाचित हुनुभएको थियो। तर, ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतको आदेशसँगै उहाँ उम्मेदवार बन्न अयोग्य ठहरिनुभएको हो। संवैधानिक इजलासले २०८१ कात्तिक २० गतेदेखि उनको पद रिक्त भएको ठहर गरेको थियो।

आयोगले यस उपनिर्वाचनका लागि भदौ २५ मा अद्यावधिक भई प्रकाशित अन्तिम मतदाता नामावली प्रयोग गर्ने निर्णय गरेको छ। यसमा मतदाता बन्नको लागि २०८२ कात्तिक १६ गतेसम्म १८ वर्ष पूरा हुनुपर्नेछ।

निर्वाचन आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउने प्रतिबद्धता जनाउँदै नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता तथा सम्पूर्ण सरोकारवालासँग सहकार्य र सहयोगका लागि अपील गरेको छ।