म्यान्चेस्टर युनाइटेडको पहिलो जित
लन्डन, १५ भदौ । म्यान्चेस्टर युनाइटेडले शनिबार राति बर्नलीलाई ३–२ ले हराएर यस सत्रको प्रिमियर लिगमा पहिलो जित हात पारेको छ । इन्जुरी समयको सातौँ मिनेटमा कप्तान बु्रनो फर्नान्डेजले पेनाल्टीमा गोल गरेपछि म्यान्चेस्टर युनाइटेडले बल्लतल्ल जित हात पारेको हो ।
दुई गोलको अग्रता खेर फालेको म्यान्चेस्टर युनाइटेडले जितका लागि अझै पर्खनुपर्ने सम्भावना बनेको थियो । तर अन्तिम समयमा प्राप्त पेनाल्टीले म्यान्चेटर युनाइटेडले अत्यावश्यक जित हासिल गर्यो । म्यान्चेस्टर युनाइटेडले अर्को खेल म्यान्चेस्टर सिटीसँग खेल्नेछ ।
गत हप्ता म्यान्चेस्टर सिटीलाई हराएको टोटनहाम भने बोर्नेमाउथसँग १–० ले स्तब्ध भएको छ । खेलको पाँचौँ मिनेटमा इभानिल्स्नले गरेको गोल नर्णायक बनेको थियो । अन्य खेलमा सन्दरल्यान्डले बे्रन्टफर्डलाई २–१ र इभर्टनले वोल्भ्सलाई ३–२ ले हराए । न्युक्यासल र लिड्सबिचको खेल भने गोलरहित बराबरीमा सकियो ।