दसैँ-तिहारलाई लक्षित गरी मुग्लिन-मलेखु सडक मर्मत सुरु

चितवन, १९ भदौ । नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन-मलेखु सडकमा दसैँ-तिहारजस्ता चाडपर्वलाई लक्षित गरी मर्मत कार्य सुरु गरिएको छ । यस सडक खण्डको स्तरोन्नतिका साथै चाडपर्वमा यात्रुहरूको सहजताका लागि कालोपत्रबाहेक खाल्डाखुल्डी पुर्ने र सम्याउने काम भइरहेको छ ।

पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार, दसैँअघि नै सडकका सानाठूला खाल्डाखुल्डी पुर्ने गरी काम थालिएको छ । उहाँले भन्नुभयो, “दसैँ, तिहारमा आवतजावत गर्ने यात्रुको सङ्ख्या बढी हुने भएकाले उहाँहरूको सहजताका साथै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मर्मतमा केन्द्रित भएका छौँ ।”

नेपालका अनुसार, ठूला खाल्डा भएका ठाउँमा बाहिरबाट गिट्टी ल्याएर भरिएको छ भने सडक सम्याउने काम पनि जारी छ । सो खण्डको ३८ किलोमिटरमध्ये हालसम्म आठ किलोमिटरमा कालोपत्र भइसकेको छ । “अरु केही भागमा कालोपत्र गर्ने तयारी छ । त्यसबाहेकका खाल्डा परेका ठाउँहरूमा मर्मतसम्भारको काम थालिएको हो,” उहाँले बताउनुभयो ।

वर्षात्का कारण कालोपत्र गर्न नमिल्ने भएकाले सडकको छेउमा ‘स्टिल’ राख्ने तथा ‘आरसिसि सेफ्टीवेरियर’ निर्माण भइरहेको छ । यसका साथै, नाली निर्माणको काम पनि भइरहेको जनाइएको छ । सो खण्डमा पर्ने ६ वटा पुलमध्ये चार वटा पुलको काम अन्तिम चरणमा पुगेको नेपालले जानकारी दिनुभयो । मौवा खोला, खटौती र गौमती पुलको ढलान सकिएर पहुँच सडकको काम भइरहेको छ भने वारबाङ् पुल एक साताभित्र ढलान गरिनेछ । यी चारवटै पुल दुई महिनाभित्र सम्पन्न भई सवारीसाधन सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो । बाँकी रहेका चरौँदी र हुग्दी पुल आगामी वर्षको मनसुन सुरु हुनुअघि सक्ने लक्ष्य छ ।

आयोजनाका इन्जिनियर विजय दरैका अनुसार हालसम्म सडक स्तरोन्नति ३५ प्रतिशत सम्पन्न भएको छ । “यस खण्डमा दुई दशमलव दुई किलोमिटर छ लेनको बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ । सात दशमलव दुई किलोमिटर सडक चार लेनको हुनेछ,” दरैले भन्नुभयो । चार लेन सडक रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्नेछ भने उकालो–ओरालो खण्डमा दुई दशमलव तीन किलोमिटरको तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइनेछ । बाँकी सडक दुई लेनको हुनेछ ।

विसं २०७९ पुस १५ गते तीन वर्षभित्र सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको थियो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरणमा विभाजन गरी बोलपत्र आह्वान गरिएकोमा यो तेस्रो चरणअन्तर्ग पर्दछ । यसमा ३८ दशमलव ८६ किलोमिटर सडक पर्ने आयोजना प्रमुख नेपालले जानकारी दिनुभयो ।

शर्मा–जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । इन्जिनियर दरैका अनुसार, सडकको विभिन्न क्षेत्रमा नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षा लगायतका कामहरू समावेश छन् । यो सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो । निर्माण कम्पनीका अनुसार, काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको यो खण्डमा सवारीको उच्च चाप र कच्चा पदार्थ पाउन कठिन हुँदा काममा ढिलाइ भएको छ ।