मेसीका दुई गोलले अर्जेन्टिना विजयी
ब्यूनस आयर्स, २० भदौ । लियोनेल मेसीले शुक्रबार अर्जेन्टिनाको राष्ट्रिय टिमबाट घरेल मैदानमा हुने विश्वकप छनोटको आफ्नो अन्तिम खेल खेले । भेनेजुयलाविरुद्धको सो खेलमा मेसीले दुई गोल गरेर आफ्नो अन्तिम खेललाई सम्झनलायक पनि बनाए ।
मेसीको शानदार प्रदर्शनले विशवकप छनोटमा अर्जेन्टिनाले भेनजुयलालाई ३–० ले हराएको थियो । मेसीले आफ्नो सन्न्यासबारे अहिलेसम्म केही भनेका छैनन् । तर उनले फिट भएमा मात्र आगामी विश्वकप खेल्ने जानकारी दिइसकेका छन् ।
सन् २०३० को विश्वकपका लागि छनोट सन् २०२७ मा मात्र सुरु हुनेछ । सो समय मेसी ४० वर्षको भइसक्नेछ । अर्जेन्टिनाका कप्तान मेसीले ३९ र ८० औँ मिनेटमा गोल गरे । विश्वकप छनोटमा मेसीको गोलसङ्ख्या ३६ पुगेको छ । भेनेजुयलाविरुद्ध अर्को गोल लाउटारो मार्टिनेजको नाममा रह्यो ।
दक्षिण अमेरिकी समूहमा शीर्ष स्थानमा रहेको अर्जेन्टिना पहिले नै विश्वकपमा छनोट भइसकेको छ । अर्जेन्टिना विश्व च्याम्पियन पनि हो ।