नेपाल र बङगलादेशबिचको खेल बराबर

काठमाडौँ, भदौ २१ गते । नेपाल र बङगलोदशले शनिबार पहिलो अन्तराष्ट्रिय फुटबल खेलमा गोलरहित बराबरीमा खेलेका छन् । फिफा इन्टरनेसनल विन्डोअन्तर्गत नेपाल र बङगलादेशबिच दुई खेलको मैत्री शृङ्खला खेलिएको हो । अब दोस्रो तथा अन्तिम खेल मङगलबार हुनेछ ।

नेपालको राष्ट्रिय फुटबल टिमले २२ महिनापछि दशरथ रङगशालामा खेल्यो तर नेपाली खेलसमर्थकलाई जितसहित खुशीखुशी घर फर्काउन भने सकेन । नेपालले पछिल्लो पटक दशरथ रङगशालामा सन् २०२३ को नोभेम्बरमा यमनसँग खेलेको थियो ।

खेलको २९ औँ मिनेटमा मणि लामाको फ्रिकिकमा डिफेन्डर अनन्त तामाङको हेडरलाई बङगलादेशका गोलरक्षक मोहम्मद सुजोन हुसेनले विफल पारेपछि नेपाल अग्रता बनाउनबाट वञ्चित भएको थियो । मणिकै अर्को राम्रो फ्रिकिकमा बङगलादेशका गोलपोस्ट नजिक रहेका अन्जन बल सम्म पुग्न नसक्दा गोल गर्ने अर्को अवसर गुम्यो । अन्जनलाई नेपालका सर्वाधिक गोलकर्ता बन्न एक गोल आवश्यक छ । तीन वर्षअघि दशरथ रङगशालामै बङगलादेशविरुद्ध भएको खेलमा अन्जनले ह्याट्रिक गरेका थिए ।

खेलको ६८ औँ मिनेटमा स्ट्राइकर जिलेस्पीजङग कार्कीले लामो दुरीबाट गरेको सशक्त प्रहारमा बङगलादेशका गोलरक्षक हुसेन बाधक बने । यसअघि खेलको दशौँ मिनेटमा बङगलादेशका सुमोन रजाले बल नेपालको गोलपोस्टमा छिराएका थिए । तर रेफ्रीले अफसाइडको संकेत गरेपछि नेपाल जोगियो । खेलको ३९ औं मिनेटमा बंगलादेशका सुमोन रेजाले हानेको प्रहार क्रसबार माथिबाट गयो । खेलको ७६ औं मिनेटमा बंगलादेशका सोहेल रानाको प्रहारलाई नेपालका गोलरक्षक किरण चेम्जोङले विफल पारे ।

सो खेलमा नेपालका रोहित चन्द प्लेअर अफ दि म्याच घोषित भए । नेपाल र बङगलादेश एएफसी एसियन कप छनोटको तेस्रो चरणका बाँकी खेलको तयारीस्वरुप मैत्री फुटबल शृङ्खलामा सहभागी भएका हुन् ।