दुई हजार ३ सय ४१ जनाको सहभागितामा एमालेको विधान महाधिवेशन चल्दै, प्रतिवेदनमाथिको समूहगत छलफल सकियो
काठमाडौं, २२ भदौ । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा अहिले पनि जारी छ । भोलिसम्म चल्ने उक्त महाधिवेशनमा प्रतिवेदनमाथिको समूहगत छलफल आज सकिएको एमालेले जानकारी दिएको छ ।
१० वटा समूहमा विभाजन गरी गरिएको छलफलमा सहभागीहरुले आफ्ना धारणा राखेका थिए । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिएको जानकारी अनुसार भोलि प्रतिवेदनमाथि समूहगत नेताको प्रस्तुतिकरण हुने छ ।
समूहगत रूपमा आएका प्रतिवेदनमाथि आएका सुझावलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने र कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाई एकीकृत रूपमा पार्टी विधान तयार पारिने गौतमले जानकारी दिनुभयो ।
उहाँले समसामयिक प्रस्ताव पारित गरेर भोलि महाधिवेशन सम्पन्न हुने बताउनु भयो । महाधिवेशनमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित हिजोदेखि शुरु भएको एमालेको दोस्रो विधान महाधिवेशन देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ ।