बर्दिवासमा चार दिनदेखि विद्यालय गएका बालक बेपत्ता

महोत्तरी, २२ भदौ । महोत्तरीको बर्दिवासमा घरबाट विद्यालय पढ्न गएका एक बालक विगत चार दिनदेखि बेपत्ता रहेका छन् ।

बर्दिवास नगरपालिका–१२ मा अवस्थित जनता माध्यमिक विद्यालय डाँडाटोलमा कक्षा ६ मा पढ्दै गरेका स्थानीय १३ वर्षीय बालक गौतम पासवान गत बिहीबार घरबाट साइकल चढेर पढ्न विद्यालय गएकामा उनी अहिलेसम्म घरफर्केर नआएको निजका काका प्रमोद पासवानले बताउनुभयो ।

गौतम बेपत्ता भएपछि परिवारजनले प्रहरीचौकी हात्तीलेटमा खोजीका लागि निवेदन दिएका छन् । इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रकाश बमले पीडित परिवारले प्रहरी चौकीमा बालक खोजतलासका लागि दिएको निवेदनपश्चात् तुरुन्तै प्रहरी टोलीले खोजतलास गरिरहेको जनाएकाे छ ।