भक्तपुरमा आज बिहान ८:३० बजेदेखि निषेधाज्ञा

काठमाडौँ, भदौ २४ । भक्तपुरमा आज बिहान ८:३० बजेदेखि निषेधाज्ञा लागू भएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले अर्को आदेश नभएसम्मका लागि सभा, जुलुस, प्रदर्शन, भेला र भीडभाड गर्न रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम भक्तपुर, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका विभिन्न तोकिएका क्षेत्रमा निषेधाज्ञा जारी गर्नुभएको हो ।

निषेधाज्ञा लागू भएका मुख्य क्षेत्रहरू

  • जडीबुटीदेखि अरनिको राजमार्ग साँगासम्म २०० मिटर वरपरको क्षेत्र

  • पेप्सीकोला मनोहर पुलदेखि निकोसेरा चोकसम्म

  • कौशलटार, बालकोट चोक हुँदै रोजभिलेजदेखि चारदोबाटो चोकसम्म

  • राधेराधे चोकदेखि निकोसेरा चोकसम्म

  • बाखाबजार, नेपाल कोरियन मैत्री नगर अस्पताल हुँदै चारदोबाटो चोकसम्म

  • सल्लाघारी नगरकोट सडक, कमलविनायक, खरिपाटी हुँदै नगरकोट क्षेत्रसम्म

  • च्यामासिंह, ताथली हुँदै नाला (काभ्रे जिल्लाको सिमाना) सम्म

  • दुवाकोट मोडदेखि नेपाल इञ्जिनियरिङ कलेज क्षेत्र

  • देकोचादेखि चाँगुनारायण मन्दिर क्षेत्रसम्म

स्थानीय सुरक्षा अवस्था र सम्भावित जोखिमलाई मध्यनजर गर्दै यो आदेश जारी गरिएको प्रजिअ घिमिरेले बताउनुभयो ।