विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिल पराजित

रियो डे जेनेरियो, २५ भदौ । विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी समूहमा बोलिभियाले बुधबार ब्राजिललाई १–० ले हराएको छ । अर्को खेलमा इक्वेडरले विश्व विजेता अर्जेन्टिनालाई १–० ले नै पराजित गर्यो । अर्जेन्टनाविरुद्धको खेलमा इक्वेडरका ३५ वषीय स्ट्राइकर इनर भ्यालेन्सियाले पेनाल्टीमा गोल गरे । सो खेलमा लियोनेल मेसीले खेलेनन् ।

यसैगरी यस नतिजासँगै बोलिभियाले सन् २०२६ मा हुने विश्वकपमा खेल्न प्लेअफमा स्थान बनाएको छ । कोलम्बियाले भेनेजुयाललाई हराएकोले पनि बोलिभियालाई फाइदा भयो । बोलिभिया चौथो पटक विश्वकप खेल्ने दाउमा छ । बोलिभियाले सन् १९९४ देखि विश्वकप खेलेको छैन । आगामी मार्चमा हुने प्लेअफमा छ टिमको सहभागिता रहनेछ । जसमध्ये दुई टिमले विश्वकपमा स्थान बनाउनेछ ।
ब्राजिलविरुद्धको खेलमा मिगुयल टेरसेरोसले पेनाल्टीमा गरेको गोल निर्णायक बनेको थियो ।खेलको ४५ औँ मिनेटमा टेरसेरोसले गरेको गोलको सहयोगमा बोलिभियाले घरेलु मैदानमा सन् २०१९ पछि पहिलो पटक ब्राजिललाई हराउनु सफल भयो ।

ब्राजिल पहिले नै विश्वकपमा चयन भइसकेको छ । अर्को खेलमा कोलम्बियाले भेनेजुयलालाई ६–३ ले हराएको हो । सो खेलमा लुइस डियाजले चार गोल गरेका थिए । डियाजले ४२, ५०, ५९ र ६७ मा गोल गरेका हुन् । येरी मिना (१० औँ मिनेट) र जोन कोर्डोबा (७५ औँ मिनेट)ले पनि गोल गरे । विश्वकप छनोटमा कोलम्बियाले तेस्रो स्थान बनायो ।

अन्य खेलमा चयन भइसकेको उरुग्वले अन्तिम खेमला चिलीसँग गोलरहित बराबरीमा खेल्यो भने पाराग्वेले पेरुलाई १–० ले पराजित गर्यो ।

दक्षिण अमेरिकी छनोट समूहमा अर्जेन्टिना (३८ अङ्क)m इक्वेडर (२९ अङ्क) दोस्रो, कोलम्बिया तेस्रो र ब्राजिल चौथो स्थानमा रहे ।