रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडको जित

बार्सिलोना, २९ भदौ । स्पेनी लिगमा आइतबार दस खेलाडीमा सीमित रियल म्याड्रिडले रियल सोसिड्याडलाई २–१ ले हराएको छ । रियल सोसिड्याड घरेलु मैदानमा पराजित भएको हो ।

एमबापेले खेलको १२ औँ मिनेटमा गोलको खाता खोले । चालू सत्रमा चार खेलमो एमबापेको यो चौथो गोल हो । खेलको ३२ औँ मिनेटमा रियल म्याड्रिडका सेन्ट्रल डिफेन्डर डिन हुसेनले रातो कार्ड पाएपछि रियल म्याड्रिडलाई धक्का पुगेको थियो । तर खेलको ४४ औँ मिनेटमा टर्कीका स्ट्राइकर अर्डा गुलरको गोलबाट रियल म्याड्रिडले अग्रता दोब्बर पार्यो । एमबापेको पासमा गुलरले गोल गरेका हुन् ।

खेलको ५६ औँ मिनेटमा ओयरजाबलले पेनाल्टीमा गोल गरी एक गोल फर्काउनुभयो । रियल म्याड्रिडका डेन काराभलको ह्यान्ड भएपछि रियल म्याड्रिडले पेनाल्टी वेहोरेको हो ।

रियल म्याड्रिडको यो चार खेलको चौथो जित भएको छ । रियल म्याड्रिड अहिले अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ ।

यसैगरी एट्लेटिको म्याड्रिडले भिलारियललाई २–० ले हरायो । विजयी टिमका लागि पाब्लो बारियो र निको गोन्जालेजले गोल गरे । अन्य खेलमा आल्भेजले एथलेटिको बिल्बओलाई १–० र गेताफेले ओभिएडोलाई २–० ले हराए ।