एसिया कपमा श्रीलङ्का र युएइ विजयी
दुबई, ३१ भदौ । एसिया कपमा श्रीलङ्का र संयुक्त अरब इमिरेट्स (युएइ)ले जित हात पारेका छन् । श्रीलङ्काले सोमबार राति हङकङलाई चार विकेटले पराजित गर्यो । घरेलु टिम युएइले ओमानलाई ४२ रनले हरायो । युएइको यो पहिलो जित हो । ओमान हारसँगै सुपर चारको होडबाट बाहिरिएको छ ।
पहिले ब्याटिङ गरेको हङकङले चार विकेटको क्षतिमा १४९ रन बनाएको थियो । श्रीलंकाले सात बल बाँकी छदाँ छ विकेटको क्षतिमा १५३ रन बनाएर जित हात पार्यो । श्रीलङ्काका लागि प्रारम्भिक ब्याट्सम्यान पथुम निसन्काले ४४ बलमा छ चौका र दुई छक्का प्रहार गरेर सर्वाधिक ६८ रन बनाए । वानिन्डु हसरङगाले नौ बलमा अविजित २० रन बनाएर श्रीलङ्कालाई लक्ष्य सम्म पुर्याए । हसरङगाको पालिमा दुई चौका र एक छक्का सामेल थियो । हङकङका लागि कप्तान यासिर मुर्तजाले ३७ रन दिएर दुई विकेट हात पारे ।
यसअघि, हङकङका लागि निजाकत खानले ३८ बलमा अविजित ५२ रनको पाली खेलेका थिए । प्रारम्भिक ब्याट्सम्यान आन्स रथले पनि ४६ बलमा ४८ रनको महत्वपूर्ण योगदान दिए । श्रीलङ्कका तेज बलर दुसमन्था चामिराले दुई तथा हसरङगाले एक विकेट लिए ।
अर्को खेलमा युएइले पहिले ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १७२ रन बनाएको थियो । ओमान जवाफमा १८.४ ओभरमा १३० रनमा अलआउट भयो । युएइका तेज बलर जुनैद सिद्दीकीले चार ओभरमा मात्र २३ रनमा चार विकेट लिएर ओमानको पालि धराशायी भएको हो । मयुएइका कप्तान मोहम्मद वासिम (६९ रन) र अलिसान सराफु (५१) रनको अर्धशतकीय पाली खेले ।