दस खेलाडीमा सीमित रियल म्याड्रिडको पुनरागमन जित

लन्डन, १ असोज । च्याम्पियन्स लिगको लिग चरणमा रियल म्याड्रिडले बुधबार फ्रान्सको मार्सेलाई २–१ ले हराएको छ । दस खेलाडीमा सीमित बनेको रियल म्याड्रिडले पुनरागमन जित हात पारेको हो ।

खेलको ७२ औँ मिनेटमा डान काराभालले रातो कार्ड पाएपछि रियल म्याड्रिड दस खेलाडीमा सीमित भएको थियो । काराभालले मार्सेका गोलरक्षकलाई टाउकोले प्रहार गरेपछि रातो कार्ड पाएका हुन् ।

यसअघि खेलको २२ औँ मिनेटमा टिमोथी वेहको गोलको सहयोगमा मार्सेले अग्रता बनाएको थियो । खेलको २९ र ८१ औँ मिनेटमा किलियन एमबापेले पेनाल्टीमा गोल गरेपछि रियल म्याड्रिडले घरेलु मैदानमा सान्टियागो बर्नबाउमा विजय प्राप्त गर्यो ।

रियल म्याड्रिडका लाग एमबापेले ६४ खेलमा ५० गोलको उपलब्धि हासिल गरेका छन् । च्याम्पियन्स लिगमा सर्वाधिक १५ उपाधि जित्ने रियल म्याड्रिडको यो कीर्तिमान दुई सयौँ जित भएको छ । यसैगरी रियल म्याड्रिडले च्याम्पियन्स लिगमा सात सय गोल पनि पूरा गरेको छ ।

तस्बिरः एपी