एसिया कपमा बङगलादेशले अफगानिस्तानलाई हरायो
आबुधावी, १ असोज । बङगलादेशले मङगलबार राति अफगानिस्तानलाई एसिया कपमा आठ रनले हराएको छ । यस नतिजासँगै बङगलादेशको सुपर चारमा प्रवेशको सम्भावना पनि कायम राखेको छ । अफगानिस्तान हारपछि समस्यामा परेको छ । अफगानिस्तानलाई अब सुपर चारमा पुगन समूह बीमा शीर्ष स्थानमा रहेको श्रीलङकालाई हराउनै पर्ने स्थिति आएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले पाँच विकेटको क्षतिमा १५४ रन बनाएको थियो । स्पीनरद्वय नुर अहमद र कप्तान रसिद खानले आठ ओभरमा ४९ रन खर्चेर चार विकेट निकालेपछि राम्रो सुरुआत पाएको बङगलादेशले अपेक्षाअनुरुप पालिको अन्त्य गर्न सकेन ।
यद्यपि तेज बलर मुस्तफिजुर रहमानले २८ रनमा तीन विकेट लिएपछि अफगानिस्तान लक्ष्यसम्म पुग्न सकेन । अफगानिस्तानले अन्तिम बलमा अलआउट हुनुअघि १४६ रन मात्र बनाउनसक्यो । अफगानिस्तानका लागि रहमनुला गुरुबाजले सर्वाधिक ३५ रन बनाए । यसअघि, बङगलादेशका लागि प्रारम्भिक ब्याट्सम्यान तान्जिद हसनले ३१ ब्लमा ५२ रनको पालि खेलेका थिए ।