पाकिस्तान एसिया कपको सुपर चारमा
दुबई, २ असोज । पाकिस्तान बुधबार राति घरेलु टिम संयुक्त अरब इमिरेट्स (युएइ)लाई ४१ रनले हराएर एसिया कपको सुपर चारमा पुगेको छ ।
टस हारेपछि पहिले ब्याटिङ गर्न क्रिजमा उत्रेको पाकिस्तानले नौ विकेटको क्षतिमा १४६ रनको सामान्य स्कोर तयार पारेको थियो । फखर जमानले ३५ बलमा ५० रन बनाएर पाकिस्तानको पालि सम्हालेका हुन् । पुछारका ब्याट्सम्यान साहिन आफ्रिदीले १४ बलमा अविजित २९ रन बनाएपछि मात्र पाकिस्तानले लड्नसक्ने स्कोर बनायो । युएइका लागि तेज बलर जुनेद सिद्दिकले चार र सिमरनजीत सिहले तीन विकेट लिए ।
युएइ जवाफमा १७.४ ओभरमा १०५ रनमा अलआउट भयो । पाकिस्तानी स्पीनरद्वय अब्रार अहमदले १३ रनमा दुई र सइम अयुबले १८ रनमा एक विकेट लिएर युएइको पालि कमजोर बनाए । तेज बलर ह्यारिस राउफ पनि १९ रनमा दुई विकेट लिएर आफ्नो पहिलो खेलमा चम्किए । युएइका लागि राहुल चोपराले सर्वाधिक ३५ रन बनाए ।