फेरिँदैछ राउटेको जीवनशैली
काठमाडौँ, असोज ८ । कुनै समय जङ्गलमा गिठा, तरुल र कन्दमूलको भरमा जीवन गुजार्ने राउटेहरू अहिले समाजमा घुलमिल हुन थालेका छन् । जङ्गलमा रहँदा काठका सामग्री बनाउन नपाएपछि उनीहरू यतिबेला सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा जीवन निर्वाह गरिरहेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित टुँडिखेलका बडसिंह राउटेले आफूहरू समुदायमा हुने हरेक क्रियाकलापमा सहभागी हुन थालेको बताउनुभयो । “सरकारले हामीलाई जङ्गलबाट बस्तीमा ल्यायो । मासिक रूपमा भत्ता दिने गरेको छ । मेरो सीपअनुसार काम नपाएपछि सरकारले दिने भत्तामा बाँच्नुपरेको छ।” उहाँले थप्नुभयो ।
जङ्गलमा बस्दा काठबाट विभिन्न सामग्री बनाएर जीविकोपार्जन गर्ने राउटे समुदाय बस्तीमा बस्न थालेपछि जङ्गलबाट काठ ल्याउन नपाएको उहाँको भनाइ छ । जङ्गलबाट फर्किएर अन्य नागरिक जस्तै जीवन बिताउन थाले पनि सिप अनुसारको काम नपाउँदा समस्या भएको उहाँको गुनासो छ । “हाम्रा छोराछोरी पढे लेखेका छैनन्। सरकारले रोजगारीको व्यवस्था गरिदिनुपर्थ्यो,” उहाँले थप्नुभयो, “सरकारले तीन महिनामा ४ हजार रुपैयाँका दरले भत्ता दिन्छ । त्यसले मात्रै खान लाउन पुग्दैन ।”
समाजमा अन्य नागरिक सरह जीवन निर्वाह गरिरहेको भए पनि रोजगारीको समस्याका कारण छोरा भारत पसेको यहाँका किरीदेवी राउटेको भनाइ छ । “हामी समाजमा घुलमिल त भएका छौँ तर रोजगारी नहुँदा समस्या भएको छ ।” उहाँले भन्नुभयो, “भत्ताले दैनिकी चलाउन सकस परेपछि छोरा रोजगारीका लागि भारत गएको छ ।” उहाँले जङ्गली जीवनभन्दा समुदायमै राम्रो लाग्ने गरेको बताउनुभयो । “जङ्गली जीवन छोडेर अन्य नागरिक जस्तै बस्न थालेका छौँ । यहीँ राम्रो लाग्छ,” उहाँले भन्नुभयो, “सरकारले हामीलाई आयआर्जन हुने कुरामा जोडिदिएको भए राम्रो हुन्थ्यो ।”
करिब ५ लाख जनसङ्ख्या भएको कञ्चनपुरमा तीन परिवार मात्रै राउटे समुदायको बसोबास छ । दार्चुलाको लालीबाट डडेल्धुराको जोगबुढा हुँदै कञ्चनपुरको टुँडिखेल बसाइँ सरेका राउटेहरू परम्परागत पेसाको विकल्प खोज्न थालेका छन् । “हाम्रो पूर्खाको जस्तो सीपले यहाँ गुजारा गर्न गाह्रो छ । गाउँघरमा पाइयो भने मजदुरीमा जाने गरेका छौँ,” अनिता राउटेले भन्नुभयो, “अहिलेको समय सुहाउँदो सीप सिकाएर सरकारले हामीलाई आत्मनिर्भर बनाउन लाग्नुपर्छ ।”