रियल म्याड्रिडको लगातार छैटौँ जित
म्याड्रिड, ८ असोज । रियल म्याड्रिडले मङगलबार राति स्पेनी लिगमा लेभान्टेलाई ४–१ ले पराजित गरेको छ । रियल म्याड्रिडका लागि किलियन एमबापेले दुई गोल तथा फ्रान्को मास्टान्टुवोनो र ब्राजिलियाली स्ट्राइकर भिनिसियस जुनियरले एक–एक गोल गरे ।
खेलको २८ औँ मिनेटमा भिनिसियसले पहिलो गोल गरे । पछिल्ला तीन खेलमा भिनिसियसले गोल गर्न सकेका थिएनन् । खेलको ३८ औँ मिनेटमा १८ वर्षीय मास्टान्टुवानोले रियल म्याड्रिडको अग्रता दोब्बर पारे । खेलको ५४ औँ मिनेटमा लाभान्टेका इटा इयोङले हेडमार्फत् गोल गरेपछि खेल रोचक बनेको थियो । तर एमबापेले खेलको ६४ औँ मिनेटमा पेनाल्टीमा र ६६ औँ मिनेटमा अर्को गोल गरी रियल म्याड्रिडको जित पक्का गरे । एमबापेले पेनाका शैलीमा पेनाल्टी प्रहार गरी गोल गरेका हुन् ।
रियल म्याड्रिड अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । रियल म्याड्रिडले सुरुका छ खेलबाट अधिकतम १८ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोना पाँच अङ्कले रियल म्याड्रिडभन्दा पछाडि छ ।
जितविहिन रहेको गिरोनाले सोही राति एथलेटिको बिल्बाओसँग १–१ ले बराबरीमा खेल्यो । भ्यालेन्सिया पनि अन्तिम समयमा गोल वेहोरेर इस्पानियालसँग २–२ ले बराबरीमा रोकिएको छ ।