बार्सिलोना स्पेनी लिगको अग्रस्थानमा
बार्सिलोना, १३ असोज । बार्सिलोना आइतबार राति रियल सोसिड्याडलाई २–१ ले हराएर स्पेनी लिगको शीर्ष स्थानमा उक्लेको छ । बार्सिलोनाका लागि रोवर्ट लेवान्डोस्की र जुलस कोउन्डेले गोल गरे ।
यद्यपि खेलको ३१ औ मिनेटमा अल्भारो ओड्रियोजोलाको गोलबाट रियल सोसड्याडले अग्रता बनाएको थियो । खेलको ४३ औँ मिनेटमा कोउन्डेले बराबरी गोल गरे । त्यसपछि ५९ औँ मिनेटमा यामिने यमालको पासमा लेवान्डोस्कीले गरेको गोल निर्णायक बन्यो । सोसिड्याडका ताकेफुसा कुबोले खेलको ७२ र ८४ औँ मिनेटमा प्रहार गरेको बल गोलपोस्टमा लागेर फर्किँदा पनि बार्सिलोनालाई भाग्यको साथ प्राप्त भयो ।
बार्सिलोना लगातार पाँच जितसहित स्पेनी लिगको शीर्ष स्थानमा उक्लेको हो । रियल म्याड्रिडभन्दा बार्सिलोना एक अङ्कले अगाडि छ । एक दिनअघि एट्लेटिको म्याड्रिडले रियल म्याड्रिडलाई ५–२ ले हराएकोले पनिबार्सिलोनालाई फाइदा पुगेको हो ।