मिथिला क्षेत्रमा प्रतिमा पूजन प्रारम्भ
काठमाडौँ, असोज १३ । बडा दसैँको सप्तमीका दिन महोत्तरीसहित सम्पूर्ण मिथिलामा दुर्गा भवानीको प्रतिमा पूजन सुरु भएको छ । माता दुर्गा भवानीको प्रतिमा अनावरण गरिएसँगै आजदेखि विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ । तराई-मधेसका प्रत्येक जिल्ला र गाउँठाउँमा निर्माण गरिएका दुर्गा प्रतिमा राखिएका मन्दिरहरूमा अहिले दुर्गा भवानीको पूजाका लागि श्रद्धालु भक्तजनहरूको भीड लागेको छ । महिला तथा पुरुषहरू आ-आफ्नो गच्छेअनुसार शृङ्गारका सामग्री, लत्ताकपडा, आभूषण, फलफूल, मिठाई, नरिवल, पान, सुपारीलगायतका वस्तुहरूका साथ लामबद्ध भएर पूजाअर्चना गरिरहेका छन् ।
जलेश्वर–२ का भक्तजन सुदिश साहका अनुसार बडादसैँमा माता दुर्गा भवानीको प्रतिमाको पूजाअर्चना गर्दा घरपरिवारमा खुसियाली, सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ । उहाँले यस मिथिला क्षेत्रमा दुर्गा भवानीको पूजाको विशेष महत्व रहेकाले प्रत्येक घरका सदस्यहरू अनिवार्य रूपमा पूजाअर्चना गर्ने गरेको बताउनुभयो । संस्कृतिविद् ध्रुव रायका अनुसार मिथिला क्षेत्रमा दुर्गा भवानीको प्रतिमा पूजाअर्चना गर्नाले दुःखीले दुःखबाट मुक्ति पाउने, निःसन्तानले सन्तान पाउने, अभागीले भाग्य पाउने र गरिब धनवान् हुनेजस्ता मान्यताहरू रहेका छन् ।