तलेजु भवानीलाई दसैँ घर भित्र्याइयो, तुलजा यात्रा सम्पन्न
काठमाडौँ, असोज १३ । प्रसिद्ध भक्तपुरको तलेजु भवानीलाई आज शुभसाइतमा दसैँ घर भित्र्याएसँगै तुलजा यात्रा सम्पन्न भएको छ । तुलजा यात्राका क्रममा श्री तलेजु भवानीलाई मूल चोक दक्षिण देवगृहबाट मूल चोकको पश्चिम कुमारी चोकस्थित दसैँघरमा सारिएको हो । तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीका अनुसार राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीहरूले तलेजु भवानीसहित अन्य देवीदेवताहरूलाई पनि दसैँ घर भित्र्याएका छन् । तुलजा यात्रामा १९ जना पुजारीहरूले जामा, पगरी, भोटो र खास्टोसहितको पुरातन पोसाक लगाएर देवीदेवताहरूलाई बोकेर दसैँ घर लगेका थिए । धिमे बाजा, खिः बाजा र भजनसहित तुलजा यात्रा गर्ने क्रममा मूल चोकमा तुलजा भवानीको दर्शन गर्न स्थानीयहरूको घुइँचो लागेको थियो ।
मूल नाइके जोशीले राजप्रतिनिधिस्वरूप नेपाली परम्परागत पोसाक लगाएर खड्ग बोकी यात्रा सम्पन्न गरिएको जानकारी दिनुभयो । आज सप्तमीदेखि विजयादशमीको दिनसम्म चार दिन तलेजु एवं अन्य देवताहरू दसैँघरमा राखिने परम्परा छ ।
विजयादशमीको दिन देवी विसर्जन गरेपछि तलेजुलाई टीका तथा जमरा लगाएसँगै कुमारी चोकस्थित दसैँघरबाट मूलचोकको दक्षिण देवगृहमै भित्र्याउने परम्परा रहेको उहाँले जानकारी दिनुभयो । तलेजुमा ऋग्वेद, यजुर्वेद, अथर्ववेद र सामवेद लगायतको पाठ गरिएको छ ।