हनुमानढोकाको दसैँ घरमा हर्षोल्लासका साथ भित्र्याइयो फूलपाती

काठमाडौँ,  असोज १३ । परम्परानुसार गोरखाबाट ल्याइएको फूलपाती आज हनुमानढोका दरबारस्थित दसैँघरमा विधिपूर्वक भित्र्याइएको छ । राज्यका तर्फबाट नवदुर्गाको विशेष पूजाआराधना गरिने यस दसैँघरमा फूलपाती भित्र्याएसँगै दसैँको रौनक थपिएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलका अनुसार, गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पूजारीसहित ६ जना मगर जातिको टोलीले फूलपाती ल्याउने चलन छ । त्यसपछि जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ६ जना ब्राह्मणले फूलपाती ल्याउने परम्परा रहिआएको छ ।

जमलबाट हनुमानढोकासम्मको यात्रा भने निकै भव्य र आकर्षक हुने गर्दछ । निजामती सेवाका उच्च पदस्थ अधिकारीहरू, नेपाली सेनाको गुर्जुको पल्टन, पञ्चेबाजा र विभिन्न सांस्कृतिक नाचगानसहित लावालस्करका साथ फूलपाती हनुमानढोका दरबारमा भित्र्याइएको हो । यस क्रममा शार्दूलजङ्ग गुल्म, गुरुजुको पल्टन, सशस्त्र प्रहरीको टोली र मङ्गल धुन गाउने मङ्गलिनी समूहको पनि सहभागिता रहेको थियो ।

हनुमानढोका दरबारको नासलचोकमा विशेष पूजाअर्चना गरिएपछि मूलचोकमा बलिसहितको पूजा गरी दसैँघरमा फूलपाती भित्र्याइएको थियो । फूलपाती भित्र्याउने यस विशेष कार्यक्रममा राजतन्त्रकालमा राज्यप्रमुख र गणतन्त्र स्थापनापछि सरकारका प्रतिनिधिको उपस्थिति रहने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।