दूर्गा भवानीको पोल्टो भर्ने ‘खोइँछ’ परम्परामा श्रद्धालुको भिड

काठमाडौँ असोज १५ । मधेस प्रदेशको महोत्तरीलगायतका जिल्लाहरूमा शारदीय नवरात्र (बडादसैँ) पर्वको अवसरमा दूर्गा भवानीको ‘खोइँछ’ (पोल्टा) भर्ने क्रम जारी छ । फूलपातीको साँझ सन्ध्या आरतीसँगै सुरु भएको यो क्रममा शक्तिपीठ, मन्दिर र प्रतिमास्थलहरूमा भक्तजनहरूको घुइँचो लागेको छ । आज महानवमीका दिन पनि देवीको ‘खोइँछ’ भर्न श्रद्धालुहरू लामबद्ध छन् । सोमबार महासप्तमीका दिन माटाका प्रतिमाको प्राणप्रतिष्ठा गरिएपछि देवी दर्शनका लागि शक्तिपीठहरू खुला गरिएका थिए । फूलपातीको सन्ध्या आरतीपश्चात सुरु भएको ‘खोइँछ’ भर्ने चलन महानवमीको मध्यरातसम्म जारी रहनेछ । मटिहानी-७ का ९० वर्षीय प्रेस स्वतन्त्रता सेनानी विन्देश्वरीप्रसाद मण्डलका अनुसार, देवी दुर्गालाई विभिन्न समयमा गरिएको भाकलअनुसार ‘खोइँछ’ भर्ने चलन चलेको हो ।

मैथिल संस्कृतिमा दशहरा भनिने यस पर्वको सप्तमी तिथिमा देवी शक्तिपीठ, मन्दिर र नवस्थापित प्रतिमास्थलहरूमा फूलपाती राखिएसँगै देवी कालरात्रिको पूजाआराधना गरिन्छ र ‘खोइँछ’ भर्ने क्रम सुरु हुन्छ । विशेषगरी विभिन्न समयमा गरिएका भाकलअनुसार देवीको सारीको अँचरा (पोल्टा) मा वस्त्रपरिधान, सौन्दर्य प्रशाधनका सामग्री, द्रव्य (सुन, चाँदीसहितका गहना), नरिवल, केरासहितका फलफूल र नगद भेटी चढाउने विधिलाई मिथिलामा ‘खोइँछ’ भर्ने भनिन्छ ।

हाल महोत्तरीको औरही नगरपालिका-७ स्थित सोनामाई देवी शक्तिपीठ, बर्दिवास-४ माइस्थानस्थित पञ्चधुरा माई मन्दिर, बर्दिवास-१ र १४ स्थित दुर्गामन्दिर, जलेश्वरस्थित सन्सारीमाई र राजदेवी मन्दिरमा ‘खोइँछ’ भर्न भक्तजनहरूको भीड लागेको छ । ‘खोइँछ’ भर्ने विधिमा पुरुषहरू सहभागी हुन सक्ने भए तापनि महिलाहरूको सहभागिता बढी देखिन्छ । मिथिलामा दसैँको सप्तमीदेखि नवमी तिथिभरि ‘खोइँछ’ भर्ने परम्परा छ । मटिहानीस्थित दुर्गा मन्दिरलगायतका जिल्लाभरिका देवी प्रतिमास्थलहरूमा नेपाली मात्र नभई सीमापारि भारतको मधुवनी जिल्लाका भक्तजनहरू पनि ‘खोइँछ’ भर्न लामबद्ध छन् ।

सोनामाईस्थानका पुजारी कामेश्वर झाका अनुसार, ‘खोइँछ’ भर्दा धनधान्य, आरोग्यतासहित इच्छित मनोकामना पूरा हुने मैथिल जनविश्वास रहेको छ । ‘खोइँछ’ भरिने क्रमसँगै बडादसैँ पर्वको महासप्तमी पर्वका दिनदेखि नै यी देवीस्थलहरूमा बलि दिने क्रम पनि सुरु भएको छ ।  फूलपाती विधि सम्पन्न भएसँगै सप्तमीकै दिन सुरु भएको बलि आज नवमीमा पनि जारी छ । जिल्लाको प्रसिद्ध सोनामाई देवी शक्तिपीठमा मधेसका जिल्लाहरूका साथै छिमेकी भारतीय जिल्लाबाट हजारौँको सङ्ख्यामा भक्तजनहरू दर्शन, पूजाआराधना र ‘खोइँछ’ भर्न पुगेका छन् ।