भक्तपुरमा आजदेखि नवदूर्गाको तान्त्रिक नृत्य सुरु
काठमाडौँ, असोज १६ । भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य विजयादशमीको अवसरमा आजदेखि सुरु भएको छ । तान्त्रिक नाचका रूपमा परिचित यो नृत्य नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल बनमालाले जानकारी दिनुभयो ।तौलाछें टोलको झट्टाप्वा नासद्यःमा नवदुर्गाका मूल पुजारीले देवगण हुने सबै वनमालालाई तान्त्रिक विधिअनुसार पूजा गरी घंघला सिं ल ल्हायगु (घुँघरू हस्तान्तरण) गरेपछि यो प्रारम्भिक नृत्य सुरु भएको मानिन्छ ।
बनमालाहरूलाई सिद्धि प्रदान गर्ने क्रममा नवदुर्गा मन्दिरका पुजारी कर्माचार्यले तीन प्रमुख बाजा – खिं बाजा, तःबाजा र कायँ बाजाका साथै घुँघरूहरू नास द्यः (नृत्यनाथ) को अगाडि राखी तान्त्रिक विधिपूर्वक पूजा गर्ने प्रचलन रहेको अध्यक्ष वनमालाले बताउनुभयो । नास द्यःलाई भेडाको बलि दिएपछि बाजा र घुँघरू प्राप्त गरेका वनमालाहरूले नास द्यःअघि बाजा बजाई नवदुर्गा नृत्य पहिलो पटक प्रस्तुत गर्नुपर्ने प्रचलन छ।