नेपालले विश्व युथ चेसमा खेल्ने

काठमाडौँ, १७ असोज । नेपालका उदीयमान दुई युथ चेस खेलाडी सिएम पुरुषोत्तम सिलवाल र एआइएम अभीक शाहले अल्बानियास्थित डुरेसमा हुने फिडे वल्र्ड युथ चेस च्याम्पियनशिप २०२५ मा खेल्ने भएका छन् ।

अक्टोबर ३ देखि १६ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित विश्वका ८० राष्ट्रका कूल ७२० जना खेलाडी रहेको बताइएको छ ।

क्लासिकल स्पर्धाअन्तर्गत युथ–१४, युथ–१६ र युथ–१८ वर्ष फरक उमेर समूहमा विभाजित रहेर ११ चरणको स्विस प्रणालीमा सञ्चालन गरिनेछ। पुरुषोत्तमले १८ वर्ष मुनि र अभीकले यु१६ मा प्रतिस्पर्धा गर्नेछन् ।

स्टान्डर्ड चेस प्रतिस्पर्धामा प्रत्येक खेलाडीलाई पहिलो ४० चालका लागि ९० मिनेट, बाँकी खेलका लागि थप ३० मिनेट र शुरु देखिनै हरेक चालमा ३० सेकेन्ड इन्क्रिजमेन्ट समय प्रदान गरिने छ।