अविरल बर्षाको प्रभाव
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान बन्द : यात्रुको भिड
काठमाडौँ, असोज १८ । मौसम खराब भएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान र अवतरण बन्द गरिएको छ । उडान हुन नसकेकाले आन्तरिक टर्मिनलमा यात्रुहरूको बाक्लो भिड लागेको छ। कतिपय वायुसेवा कम्पनीहरूले यात्रुहरूले काटेको टिकट रद्द गरिरहेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशको पूर्वी भागसम्म पानी परिरहेको छ। पानीको मात्रा र क्षेत्र अझै बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । कुनै-कुनै प्रदेशमा भारी तथा अति भारी वर्षाको सम्भावना रहेकाले अत्यावश्यक बाहेकका सवारी साधन नचलाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।