विश्वकप छनोटमा नेपालको विजयी सुरुआत

काठमाडौँ, २२ असोज । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको छ । यस नतिजासँगै नेपालको सुपर सिक्समा प्रवेश बलियो बनायो । समूह बीमा रहेको नेपालले शुक्रबार जापानसँग खेल्नेछ । प्रत्येक समूहमा शीर्ष दुई स्थानमा रहने टिम सुपर सिक्समा पुग्ने प्रावधान रहेको छ । सुपर सिक्समा शीर्ष तीन स्थानमा रहने टिम विश्वकपमा खेल्न योग्य हुनेछन् ।
ओमानको मकटमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्न क्रिजमा आएको नेपालले निर्धारीत २० ओभरमा सात विकेटको क्षतिमा १४१ रनको सामान्य स्कोर तयार पारेको थियो । कुवेतले जवाफमा १८.१ ओभरमा ८३ रन मात्र बनाउनसक्यो ।
ललित राजवंशी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले मध्य क्रममा दुई–दुई विकेट लिएर कुवेतको पालि कमजोर बनाए । सोमपाल कामीले दुई ओभरमा मात्र तीन रन खर्चेर प्रारम्भिक ब्याट्सम्यान राविजा सान्डरुवानलाई शुन्यमा आउट गरी नेपालालई शानदार सुरुआत दिलाएका थिए । नेपालकालागि नन्दन यादव र कुशल भुर्तेलले पनि विकेट लिए । कुवेतका लागि प्रारिम्भक ब्याट्सम्यान क्लिन्टो अन्टोले २३ बलमा दुई छक्कासहित सर्वाधिक २६ रन बनाउनुभयो । उनको महत्वपूर्ण विकेट दिपेन्द्रसिंह ऐरीले शानदार ढङगले रनआउट गरी प्राप्त गरे । क्लिन्टोबाहेक मिट भावसर (११ रन) र यासिम पटेल (१९ रनले मात्र दोहोरो अङ्कमा रन बनाउन सके ।
भुुर्तेलको अर्धशतक
यसअघि, नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले ५६ बलमा तीन चौका र तीन छक्कासहित सर्वाधिक ६६ रन बनाएका थिए । दीपेन्द्रसिंह ऐरी २० रनमा रनआउट भए । गुल्शन झाले ६ बलमा २० रनको निर्णायक पालि खेले । गुलसनले नवीनराज राजेन्द्रनले फालेको १९औं ओभरको अन्तिम तीन बलमा लगातार तीन छक्का प्रहार गरेका थिए । सोही ओभरको सुरुका दुई बलमा भुर्तेलको ब्याटबाट दुई चौका आएको थियो । सो ओभरमा नेपालले २७ रन बटुलेको थियो । अन्तिम ओभरमा गुलसन र भुर्तेल दुवै आउट भए ।
कुवेतका लागि अनुदीप चेन्थामारा र नवीन राजले दुई–दुई तथा मोहम्मद असलम र अकिफ फारुकले एक–एक विकेट लिए ।
१९ औँ ओभर निर्णायक मोड
कुवेतका कप्तानले पहिलो पालिको खेलको १८ औँ ओभरसम्म खेल आप्mनो पकडमा रहेको तर १९ औँ ओभरमा २७ रन खर्चेपछि आफ्नो टिमले लय गुमाएको बताए । उनले भने, यो क्रिकेट हो, हामी अर्को खेलमा सशक्त ढङगले पुनरागमन गर्नेछौँ ।
नेपालका कप्तान रोहितले १५०–१६० रनको बनाउने हिसाबले ब्याटिङ गरेको भएपनि कुवेतले राम्रो बलिङ गरेपछि त्यो लक्ष्य पूरा नभएको तर ट्रिकी विकेट भएकोले स्कोर जोगाउन सक्नेमा आफूहरुमा विश्वास भएको प्रतिक्रिया दिए । आजको खेलमा ६६ रन बनाउनुका साथै एक विकेट लिने भुर्तेल म्यान अफ दि म्याच चुनिए । भुर्तेलले सुपर सिक्समा पुग्ने पहिलो लक्ष्य पूरा गर्न पहिलो खेल जित्नु आवश्यक रहेको बताए । उनले गुलसनको ब्याटिङको प्रशंसा पनि गरे ।