नेप्से परिसूचकमा गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौं, २८ असाेज । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार बढेर बन्द भएको नेप्से, यस दिन भने १९.४३ अंकले घटेर २५२८.१६ विन्दुमा झरेको हाे।
परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। सोमबार करिब ५ अर्ब रुपैयाँको शेयर खरिदबिक्री भएकोमा यस दिन ३१७ स्टकको ३८ हजार ८२७ पटकको कारोबारबाट ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार रुपैयाँ बराबरका ७४ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भए।
यस दिन सेन्सेटिभ इण्डेक्स ४.६० अंक, फ्लोट इण्डेक्स १.८० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७१ अंक घटेको छ।
सर्किट लेभलमा दुई कम्पनी, समाज लघुवित्तमा सर्वाधिक गिरावट
मंगलबार शुभम पावर र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब ६ प्रतिशत र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य करिब साढे ५ प्रतिशतले बढ्यो।
आज कारोबारमा आएको समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक १० प्रतिशतले घट्यो।
कारोबार रकममा नेपाल पुनर्बीमा अग्रस्थानमा
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३२ करोड ७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो। हिमालयन रि इन्स्योरेन्सको १६ करोड रुपैयाँभन्दा बढी र सिईडिबी होल्डिङ्स लिमिटेडको साढे १२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भयो।
उपसमूहगत अवस्था
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढ्यो भने १० उपसमूहको परिसूचक घट्यो। व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४८ प्रतिशतले बढ्यो। अन्य र म्युचुअल फण्ड उपसमूहको परिसूचकमा सामान्य वृद्धि देखियो।
यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।