नेप्सेमा गिरावट जारी, कारोबार रकममा पनि कमी
काठमाडौं, २९ असाेज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले बुधबार पनि गिरावटलाई निरन्तरता दिएको छ। मंगलबार घटेर बन्द भएको बजारमा यस दिन पनि सोही प्रवृत्ति कायम रहँदा लगानीकर्तामा चिन्ता बढेको छ।
बुधबार नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५.५८ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स २.९२ अंकले घट्दा फ्लोट इण्डेक्स १.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०५ अंकले घटेको छ।
परिसूचकसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ। मंगलबार ३ अर्ब ३६ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा बुधबार ३१८ स्टकको ३५ हजार ७५० पटकको कारोबारमा ३ अर्ब १० करोड १८ लाख ३० हजार रुपैयाँ बराबरको ७६ लाख ११ हजार कित्ता शेयर किनबेच भएको छ।
यस दिन समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६.९३ प्रतिशतले बढेको छ। त्यस्तै, एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य ५.२३ प्रतिशतले वृद्धि भएको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।
गिरावटको बजारमा समाज लघुवित्त वित्तीय संस्था र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ, जसले लगानीकर्तामा थप निराशा छाएको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २० करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, हिमालयन रि इन्स्योरेन्सको करिब साढे १३ करोड रुपैयाँ र यूनियन हाइड्रोपावरको करिब १३ करोड रुपैयाँको शेयर किनबेच भएको छ।
बुधबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचकमा सामान्य वृद्धि देखिएको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ।