वाणिज्य बैंकहरूले कात्तिकका लागि ब्याजदर घटाए, व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ५.७५ प्रतिशतमा झर्यो
काठमाडौं, ३० असाेज । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर थप घटाएका छन्।
सञ्चालनमा रहेका २० मध्ये १९ वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार, असोजको तुलनामा कात्तिकमा निक्षेपको औसत ब्याजदर ०.३१ प्रतिशत विन्दुले घटेको छ। (नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ब्याजदर सम्बन्धी सूचना सार्वजनिक भएको छैन।)
असोज महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशत रहेकोमा कात्तिक महिनाका लागि यो दर घटेर ५.७५ प्रतिशत कायम भएको छ।
हाल सबैभन्दा धेरै ब्याज एनआईसी एसिया बैंकले दिने भएको छ, जसले ५.७५ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ। अर्कोतर्फ, हिमालयन बैंकबाट भने सबैभन्दा कम चार प्रतिशत मात्रै ब्याजदर पाइने भएको छ।
बैंकहरूले रेमिटेन्स खातामा भने व्यक्तिगत मुद्दती खातामा भन्दा एक प्रतिशत बढी ब्याज दिने व्यवस्था कायम राखेका छन्।
कुल १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। सिटिजन्स बैंक इन्टरनेसनलले मात्र ब्याजदर बढाएको छ, जबकि बाँकी बैंकहरूले ब्याजदर स्थिर राखेका छन्।
केही समयदेखि नै बैंकहरूसँग कर्जा लगानी योग्य रकम (तरलता) उच्च रहेकाले ब्याजदर घटिरहेको छ। हाल बैंकहरूसँग १० खर्बभन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ।