ल्हेन्दे खोलाकाे मितेरी पुल पुनः निर्माण अन्तिम चरणमा

रसुवा, ५ कात्तिक । नेपाल–चीनबीच ल्हेन्देखोलाको मितेरी पुल पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माणाधीन ‘बेलिब्रिज’का लागि आवश्यक पार्टपुर्जा जडान तथा पिलरसमेत ठड्याउने काम भइसकेको जनाइएको छ ।

सो स्थानमा रहेको पक्की मोटोरेबल पुल गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले बगाएपछि चीन सरकारले पुल निर्माणको पुनःनिर्माण सहयोग गरेको हो ।

वारीपारीको भाग जडान पूरा हुँदै जाँदा सो बेलिब्रिजको बीच भाग लच्किएपछि यसलाई बलियो बनाउन चिनियाँ प्राविधिकले पुलको आधा भागमा पर्ने गरी खोलाको माझमा थप पिलर उठाउन थालिसकेको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले कामको तीव्र हेर्दा यही कात्तिक १५ गतेसम्म मितेरीपुल सञ्चालनमा आउनसक्ने आफ्नो स्थलगत निरीक्षणले आँकलन गरेको बताउनुभयो । उहाँले यस सम्बन्धमा सीमाक्षेत्रका समकक्षी चिनियाँ मित्रहरूले सञ्चालनको आधिकारीक जानकारी नदिएको बताउनुभयो ।

बेलिब्रिजका बीचमा ‘पिलर’ राखी थप बलियो बनाउने काम अगाडि बढेको देखेपछि व्यापार व्यवसाय सहज हुनेमा आफूहरू आशावादी रहेको व्यवसायीहरूले बताएका छन् ।