राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठी माताको पूजा आराधना र अर्घ्यदान
काठमाडौँ, १० कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि बागमती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा पुगी सूर्यसहित छठी माताको पूजा आराधना एवं अस्ताउँदो सूर्यलाई अर्घ्यदान गर्नुभएको छ ।
छठ पूजाका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित गुह्येश्वरी पुग्नुभएको थियो । उहाँलाई राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, पशुपति क्षेत्र विकास कोष र गुह्येश्वरी छठ पूजा समितिका पदाधिकारीहरूले स्वागत गर्नुभएको थियो । देशका विभिन्न भागमा भव्य रूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ ।
छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिन राजधानीका अन्य स्थानका साथै गुह्येश्वरीमा पनि छठघाट भव्य रूपमा सजाइएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानलाई पनि सजाउने गरिन्छ । यहाँको साजसज्जा हेर्न भक्तजनको घुइँचो लागेको छ भने भजन एवं भक्ति सङ्गीतले पशुपति क्षेत्रको बागमती नदी किनारको वातावरण मेलामय बनेको छ ।
यस वर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको बागमती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, कुपण्डोल, सानेपास्थित रामतीर्थलगायत नख्खु खोला, विष्णुमती र बागमती नदी किनारमा छठघाट निर्माण गरी सजाइएको छ । यी स्थानमा छठघाटसँगै छठी माताको माटाको मूर्ति निर्माण गरिएको छ, जहाँ आज अस्ताउँदो सूर्यसँगै छठी माताको पूजा आराधना गरिन्छ ।
गुह्येश्वरीमा यस वर्ष विगत वर्षभन्दा बढी छठघाटको निर्माण गरिएको छ । विगतमा करिब ६०० छठघाट निर्माण गरिएकामा यस वर्ष ७०० भन्दा बढी निर्माण गरिएको छठ पूजा समितिका अनिल सिंहले जानकारी दिनुभयो । एउटा छठघाटको रु एक हजार ५०० शुल्क लिएर भक्तजनलाई उपलब्ध गराइएको छ ।
आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका वर्तालुहरू मङ्गलबार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन् । बिहान उदाउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व समापन हुन्छ ।