मुस्ताङमा हिमपातसंगै किसान र पर्यटन व्यवसायी उत्साहित, पदमार्ग अवरुद्ध

मुस्ताङ, ११ कात्तिक । जलवायु परिवर्तनका कारण विगत तीन वर्षसम्म राम्ररी हिमपात नभएको हिमाली जिल्ला मुस्ताङमा यस वर्ष कात्तिकमै हिउँ परेको छ । आज बिहानदेखि निरन्तर हिउँ परिरहेको छ । सामान्यतया मङ्सिर महिनाको अन्त्यतिर पर्नुपर्ने हिउँ यसपटक कात्तिकमै परेको हो ।

केही वर्षयता मुस्ताङवासीले भारी हिमपात देख्न पाएका थिएनन्, जसले यहाँको कृषि, पर्यटन र जैविक विविधतामा नकारात्मक असर पुर्‍याएको थियो । यस वर्ष समुद्री सतहको तीन हजार मिटरमाथिको उचाइमा हिमपात भएको छ । मुक्तिनाथ र उपल्लो मुस्ताङको घमीभन्दा माथिका बस्ती तथा उच्च लेकहरूमा बाक्लो हिउँ परिरहेको छ ।

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर र आसपासका क्षेत्रमा हिमपात रोकिएको छैन । वारागुङ मुक्तिक्षेत्र–३ छुसाङदेखि तल्लो क्षेत्रका बस्तीमा निरन्तर वर्षा भइरहेको छ भने बस्तीभन्दा माथिका उच्च लेकमा हिउँ परेको छ । मनाङ हुँदै थोरङला पास पदमार्ग, जोमसोम, ठिनी हुँदै तिलिचो जाने नमुख लेकदेखि मेसोकोन्दो पास पदमार्ग र धौलागिरि आइसफलको धम्पुस पिक पदमार्गलगायतका स्थानमा बाक्लो हिउँ पर्दा पदमार्गहरू अवरुद्ध भएका छन् ।

उपल्लो मुस्ताङको कोरला सडकमा पनि हिउँ जम्दा सवारीसाधन आवतजावतमा समस्या भएको छ । स्थानीय प्रशासनले यसअघि नै सार्वजनिक सूचना जारी गरी उच्च स्थानका पर्यटकीय पदमार्गमा यात्रा नगर्न आग्रह गरिसकेको छ । मुक्तिनाथ क्षेत्रमा भारी हिमपात हुँदा मुक्तिनाथ दर्शन गर्न पुगेका दर्शनार्थीहरूलाई भने सास्ती भएको छ । अत्यधिक चिसो बढेको र स्नान कुण्डमा हिउँ जमेका कारण स्नान गर्ने तथा १०८ धारामा नुहाएर मन्दिरको दर्शन गर्नसक्ने अवस्था नरहेको बताइएको छ ।

वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रवेश गुरुङका अनुसार, मुक्तिनाथ दर्शन गरी फर्किएका सवारीसाधन तथा यात्रुहरू सडकमा जमेको हिउँका कारण खिङ्गाबाट तल झर्न सकेका छैनन् । प्रहरी प्रशासनले कागबेनीदेखि मुक्तिनाथसम्मको सडकमा यात्रा नगर्न अनुरोध गरेको छ । अहिलेसम्म हिमपातका कारण स्थानीय र पर्यटकको दैनिक जनजीवन प्रभावित भए पनि कुनै मानवीय वा भौतिक क्षति भने नभएको प्रशासनले जनाएको छ ।

वडाध्यक्ष गुरुङले हिमाली क्षेत्रमा हिमपात हुनु स्वाभाविक भए पनि यस वर्ष कात्तिकमै हिउँ पर्दा आश्चर्यचकित भएको बताउनुभयो । हिउँले कृषि, पर्यटन र पशुपालन क्षेत्रलाई फाइदा पुग्ने भए पनि बाक्लो हिमपातका कारण स्याउलगायतका बोटबिरुवालाई आंशिक क्षति पुर्‍याएको उहाँको भनाइ छ । मुस्ताङमा स्याउको पोस्ट हार्भेस्ट अन्तिम चरणमा पुगेको छ । “स्याउको पात झर्ने बेला यसप्रकारको हिउँ परेको भए राम्रो हुन्थ्यो, केही छिटो हिउँ पर्‍यो,” वडाध्यक्ष गुरुङले भन्नुभयो, “तैपनि हिउँले आंशिक असर पुर्‍याए पनि समग्रमा अहिले परेको हिउँले कृषक, पर्यटन व्यवसायी र जैविक विविधतालाई राम्रो फाइदा पुगेको छ ।”

भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्रका प्रमुख डा लालमणि अर्यालले यस वर्ष कात्तिकमा परेको हिउँले उच्च लेकको चरन क्षेत्रमा पशुपालनका लागि निकै राम्रो हुने बताउनुभयो । जलवायु परिवर्तनका कारण अनुकूल समयमा हिउँ नपर्दा उच्च लेक चरन क्षेत्रमा घाँस पलाउन छोडेको र अनधिकृत घाँस पलाउने गर्दा पशुपालन व्यवसाय सङ्कटमा पर्दै गइरहेकोमा यस वर्षको हिउँले पशुपालकका लागि चरन क्षेत्र सहज हुने अपेक्षा उहाँले गर्नुभयो । पर्याप्त घाँस पलाउन सकेमा पशुपालक र वन्यजन्तु दुवैका लागि राम्रो हुने डा अर्यालले उल्लेख गर्नुभयो ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङका अनुसार, यस वर्षको हिमपातले स्याउलगायत अन्नबालीलाई राम्रो फाइदा पुग्नेछ । स्याउ हार्भेस्ट सकेर अर्को महिना स्याउ बगैँचा व्यवस्थापन गर्ने पूर्वसन्ध्यामा परेको हिउँ किसानका लागि वरदान साबित भएको उहाँको भनाइ छ ।

हिमपातले जमिनको माटोलाई मुलायम बनाउने र भित्री तहसम्म पानी रिचार्ज गर्ने भएकाले कृषि उपजका लागि हिउँ पर्नु शुभ सङ्केत मानिएको छ । हिउँदयामको पूर्वसन्ध्यामा परेको हिउँले स्याउ, उवा, फापर, जौ, मकैलगायतका अन्नबाली उत्पादनमा सिँचाइको काम गर्ने जनाइएको छ ।