म्याग्दीको बाघखोरमा बाघको प्रतिमासहितको पार्क निर्माण : पर्यटकीय आकर्षण बढ्ने अपेक्षा
काठमाडौँ, वैशाख १० । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीस्थित बाघखोरमा पर्यटकीय आकर्षण बढाउने उद्देश्यले आकर्षक पार्क निर्माण गरिएको छ। मुसुङ र भुकभुके टोलको शिर तथा धार्मिक एवं पर्यटकीय स्थल स्वर्गाश्रम र बेलढुङ्गाको फेदीमा रहेको प्रयोगविहीन सार्वजनिक जमिनलाई संरक्षण गरी व्यवस्थित पार्कको रूप दिइएको हो ।
बेनी नगरपालिकाको बजेट, स्थानीय दाताहरूको सहयोग र जनश्रमदानबाट पार्कभित्र पर्यटकका लागि आश्रयस्थल, वनभोज स्थल (पिकनिक स्पट) र बाघको प्रतिमा निर्माण गरिएको छ। वडाअध्यक्ष पदम पुनका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि नगरपालिकाले निरन्तर बजेट विनियोजन गर्दै आएको यो परियोजनामा हालसम्म १० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। चालू आर्थिक वर्षको ३ लाख रुपैयाँ बजेटबाट वनभोज स्थलको घेराबार र आवश्यक सामग्री व्यवस्थापन गरी पार्कलाई पूर्णता दिने तयारी भइरहेको छ ।
समुन्द्री सतहदेखि करिब २ हजार २५० मिटरको उचाइमा अवस्थित यस पार्कका लागि बराहताल सामुदायिक वनको ८ रोपनी जग्गा घेराबार गरिएको छ। पार्कभित्र करिब ३ लाख ५० हजार रुपियाँको लागतमा बाघको प्रतिमा स्थापना गरिएको छ भने स्थानीय दाताहरूको सहयोगमा कालिका र मालिका देवीको मन्दिर तथा पानको पात अङ्कित आकर्षक स्तम्भ समेत निर्माण गरिएको निर्माण समितिका अध्यक्ष पृथीप्रसाद पुनले जानकारी दिनुभयो ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्रबाट धौलागिरि, अन्नपूर्ण र गुर्जा जस्ता हिमशृङ्खलाका साथै म्याग्दी नदी र वरपरका ग्रामीण वस्तीहरूको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
स्वर्गाश्रम र बेलढुङ्गा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको बसाइ लम्ब्याउन यो पार्कले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। परापूर्वकालमा यस ठाउँमा बाघ समात्नका लागि खोर राखिने गरेकाले यसको नाम ‘बाघखोर’ रहन गएको किंवदन्ती छ, जसलाई सार्थक तुल्याउन पार्कमा बाघको प्रतिमा राखिएको स्थानीयबासी बताउँछन् ।