रत्न मन्दिर र हिमागृहको जग्गा व्यावसायिक प्रयोजनमा लिजमा नदिन आग्रह

काठमाडौँ, कार्तिक २७ । जिल्ला समन्वय समिति, कास्कीले पोखरास्थित ऐतिहासिक रत्न मन्दिर र हिमागृहको जग्गा व्यावसायिक प्रयोजनका लागि लिजमा नदिन नेपाल ट्रस्टलाई आग्रह गरेको छ ।

समितिको आज बसेको ५४औँ बैठकले ऐतिहासिक महत्व बोकेका रत्न मन्दिर र हिमागृहको जग्गा व्यावसायिक प्रयोजनमा प्रयोग नगर्न ट्रस्टलाई अनुरोध गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति प्रमुख लीलाधर पौडेलले जानकारी दिनुभयो ।

नेपाल ट्रस्टले केही समयअघि रत्न मन्दिर, हिमागृह र बाराहीघाटलगायत आफ्नो स्वामित्वमा रहेका जग्गा ३० वर्षका लागि व्यावसायिक प्रयोजनमा लिजमा दिने योजना सार्वजनिक गरेको थियो । उक्त योजनाप्रति असहमति जनाउँदै जिससले ऐतिहासिक, प्राकृतिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नु सबैको साझा दायित्व भएको जनाएको हो ।

जिसस प्रमुख पौडेलले रत्न मन्दिर र हिमागृहजस्ता ऐतिहासिक महत्वका स्थललाई व्यावसायिक प्रयोजनमा लगाउन नहुने बताउनुभयो । उहाँका अनुसार बाराहीघाट, रत्न मन्दिर र हिमागृहको केही जग्गा फेवातालको मापदण्डभित्र पर्ने भएकाले पनि लिजमा दिन उपयुक्त हुँदैन ।

बैठकले ऐतिहासिक महत्वका जग्गा तथा सम्पदास्थलको उचित संरक्षण र व्यवस्थापनका लागि तीनै तहका सरकारलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

नेपाल ट्रस्टले पोखरा महानगरपालिका ६ स्थित बाराहीघाट, रत्न मन्दिर र हिमागृह परिसरको जग्गामा व्यावसायिक कम्प्लेक्स, होटल, रेष्टुराँ तथा मनोरञ्जन केन्द्रलगायत संरचना निर्माण गर्ने उद्देश्यले लिजमा दिने प्रस्ताव अघि सारेको छ ।

यसअघि पोखरा महानगरपालिका, पर्यटनसम्बद्ध सङ्घसंस्था तथा संरक्षणकर्मीले पनि ऐतिहासिक र पर्यटकीय महत्व बोकेको उक्त क्षेत्रको जग्गा व्यावसायिक प्रयोजनका लागि लिजमा दिन नहुने धारणा राख्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *