मुख्यमन्त्री यादवले शनिबार विश्वासको मत लिनु हुने
काठमाडौँ, कार्तिक २७ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सभामुख रामअशिष यादवले शनिबारका लागि प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । सभामुख यादवका अनुसार बैठकको कार्यसूची तय गर्न सोही दिन कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । समितिले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावलाई प्रदेशसभा बैठकको कार्यसूचीमा समावेश गर्नेछ ।
सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । उहाँले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार नै प्रदेशसभा सचिवालयमा औपचारिक पत्र पठाइसक्नुभएको छ ।
विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमत जुटाउने प्रयासमा मुख्यमन्त्री यादव विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफलमा जुट्नुभएको छ । दलहरूसँग संवाद भइरहेको र मतदान हुनुअघिसम्म सहमतिको प्रयास जारी रहने उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारलाई समर्थन गर्दै आएका एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए । त्यसपछि सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले पनि यही कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।
दुई प्रमुख सहयोगी दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ । सरकारको निरन्तरता सुनिश्चित गर्न मुख्यमन्त्री यादवले विभिन्न दलसँग राजनीतिक समीकरण मिलाउने प्रयास गरिरहनुभएको छ ।
एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सरकार गठन तथा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा (एमाले)का २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद रहेका छन् ।
प्रदेशसभाको वर्तमान अङ्कगणितअनुसार कांग्रेसका २२ सांसद मात्रै मुख्यमन्त्री यादवको पक्षमा रहेकाले विश्वासको मत प्राप्त गर्न थप ३२ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ । यस्तो अवस्थामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी तथा साना दलको समर्थन मुख्यमन्त्रीका लागि निर्णायक हुने देखिएको छ ।
