नेपाल भाषा शिक्षणलाई सरल, व्यवहारिक र बैज्ञानिक बनाउने पाठ्यक्रममा उपप्रमुख डंगोलको जोड
काठमाडौँ, कार्तिक १४ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, स्थानीय पाठ्यक्रमका रुपमा कार्यान्वयन गरिएको नेपाल भाषाको शिक्षणलाई सरल, सहज, व्यवहारिक र वैज्ञानिक बनाउने पाठ्क्रममा जोड दिनुभएको छ । आज उपप्रमुख डंगोलको अध्यक्षतामा नेपाल भाषा पाठ्यक्रम निर्माणका विज्ञ र शिक्षा विभागका अधिकारीहरुसँग बसेको बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
वैठकमा स्थानीय पाठ्यक्रमका रुपमा महानगरपालिकाले कार्यान्वयनमा ल्याएको परिमार्जित पाठ्यक्रम कार्यपालिकामा पेश गर्ने, नेपाल भाषा प्रशिक्षक व्यवस्थापन कार्यविधि २०७७ संशोधनका लागि विधायन समितिमा पेश गर्ने लगायत विषयमा छलफल भएको थियो । यस विषयमा कुरा गर्दै उपप्रमुख डंगोलले भन्नुभयो, ‘स्थानीय पाठ्यपुस्तक भाषाको सिकाइ मात्र होइन । यो काठमाडौँ महानगरपालिकाको पहिचानसँगै रैथाने समुदायको मौलिकता र पहिचान स्थापित गर्ने प्रणाली पनि हो । यसको शिक्षणले सबैको प्रतिष्ठा बढाउँछ । यसकारण स्थानीय पाठ्य सामग्रीलाई सहज ग्रहण योग्य बनाउँदै लैजानुपर्छ ।’
बैठकमा महानगर स्तरीय स्काउट परिषदको बैठक तथा स्काउट क्रियाकलाप, महानगरीय स्थानीय स्काउट सञ्चालन, व्यवस्थापन र परिचालन लगायत विषयमा छलफल भएको थियो ।
महानगरपालिकाले नेपाल भाषाको सिकाइ अन्तर्गत कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठनपाठन तथा मूल्याङ्कन हुने गरेको छ । कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठनपाठन र मूल्याङ्कन हुने व्यवस्था गरिएको छ ।
‘येँ देय् म्हसिके’ अर्थात् काठमाडौँलाई चिनौँ । काठमाडौँ महानगरपालिकाले आधारभूत तहका लागि कार्यान्वयनमा ल्याएको स्थानीय भाषाको पाठ््यक्रम हो । नेपालको संविधानको भाग ३ मौलिक हकअन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । यही व्यवस्था कार्यान्वयन गर्दै नेपाल भाषाको पाठ््यक्रम कार्यान्वयनमा ल्याएको हो ।
ठाउँको मौलिक नामले जनाउने धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्ष, मान्ने गरिएका, मनाउने गरिएका जात्रा, चाडपर्व, संस्कार संस्कृति, बालबालिकाले चिन्न सकुन् । ढुंगेधारा, पाटी, सत्तलजस्ता संरचना पहिचान गर्न सकुन् । काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, सिप, कौशल, व्यवसाय, स्वास्थ्य, सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय बोल्ने भाषा, लेख्ने लिपि, परम्परागत खेलका बारेमा जान्न सकुन भन्ने उद्देश्यले नेपाल भाषाको पाठ्यक्रम कार्यान्वयन गरिएको हो ।